काठमाडौँ – भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । नेपालमा एकाएक प्याजको भाउ आकासिएको छ।
भारतबाट प्याज नआउने पक्का भएसँगै व्यापारीहरुले प्याज लुकाउने देखि मूल्यवृद्धि गर्ने सम्मका कार्य गरेका छन्। प्याजमा कालोबजारी हुन थालेसँगै निर्यातमा प्रतिवन्ध लागेको भोलिपल्टै नेपालमा प्याजको भाउ दोब्बर भन्दा बढीले बढेको छ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा चर्को मूल्य वृद्धि भएको गुनासो आएसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार बल्खु र कालीमाटीस्थित तरकारी बजारको छड्के अनुगमन गरेका छन्।
झण्डै दोब्बर मूल्यमा प्याज बेच्न थालिएको सूचना पाएपछि मन्त्री भट्ट आफैं बजार अनुगमनमा निस्किएका हुन्। मन्त्री भट्टले बल्खु र कालीमाटीमा सेवाग्राही बनेर प्याज समेत किनेका थिए।
मन्त्री भट्टलाई व्यापारीहरुले एक केजी प्याजको एक सय १० रुपैयाँसम्म लिएका थिए। उनको अनुगमन पश्चात महँगोमा प्याज बेच्ने बल्खुका ७ वटा पसललाई सिल गरिएको छ।
महँगोमा प्याज बेच्ने उनीहरु माथि वाणिज्य विभागले कारवाही प्रक्रिया अग्रि बढाइसकेको छ।