देउवाले भने – ‘म पूरापूरा महिलावादी हुँ, अब देशको प्रधानमन्त्री महिला बन्नुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी भएको बताएका छन् । मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले आफू महिलावादी रहेको र अब देशमा महिला प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन्।

“म पूरापूरा महिलावादी नै हुँ नि । महिला आयोग मैले बनाएको हो । दलित आयोग मैले बनाएको हो, जनजाति प्रतिष्ठान मैलै नै बनाएको हो”,उनले भने।

आउने निर्वाचनमा महिला मतदाताहरूको संख्या बढाउन आवश्यक रहेको उनले बताए। मतदाता बढाएर महिला प्रधानमन्त्री बनाउनुपर्ने उनको भनाई थियो।

“महिलाहरुलाई मेरो अनुरोध छ भोट महिला ल्याउनु पर्याे। महिला संघले मतदाता बढाउनु पर्यो। गाउँका सबै महिला मतदाता हुनुपर्यो। ३३ प्रतिशत महिला मतदाता त कांग्रेसमा ल्याउनु पर्याे।”,उनले भने। महिलाहरुलाई आरक्षण दिएर मात्र नहुने उनले स्पष्ट पारे।

“हाम्रो पार्टीले सबैलाई आरक्षण दिएको छ। जनसंख्याको आधारमा आरक्षण दिएको छ। हाम्रो पार्टीमा जस्तो कुनै पनि पार्टीले आरक्षण दिएको छैन। तर, आरक्षण मात्रै भएर भएन नि, जनताको भोट पनि आउनुपर्यो”,उनले भने। महिला मतदाताको संख्या बढाउन सकेको खण्डमा भोलि देशको प्रधानमन्त्री पनि महिला नै हुने उनले बताए।

“महिलाहरुले महिला मतदाता ल्याऊँ, दलितले दलित ल्याऊँ, थारूले थारु, मुस्लिमले मुस्लिम मतदाता बढाउनुहोला। भोट ल्याउने काम गर्नुभयो भने पार्टीले चुनाव जित्छ। नत्र पार्टी हारिहाल्छ नि। भोट जित्यो भने भोलि राष्ट्रपति, प्रधानमन्त्री, पार्टीकै सभापति महिला बन्‍नुहुन्छ।”,देउवाले भने।
महिला मतदाता भित्राएको खण्डमा पार्टीको सभापति देखि प्रधानमन्त्री सम्म महिला नै बन्ने उनले दावी गरे।

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७११:४०

“सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा, सरकारले पतनको बाटो रोज्यो”