युइएफए उत्कृष्ट वर्ष खेलाडी मनोनयन सार्वजनिक: १० वर्षमा पहिलोपटक मेस्सी-रोनाल्डो दुवै आउट !

एजेन्सी – युरोपेली फुटबल महासङ्घ युइएफएले सन् २०१९-२० को उत्कृष्ट खेलाडी अवार्डको लागि मनोनित खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। युइएफएले बुधबार सर्वोत्कृष्ट पुरुष फुटबलर अवार्डको लागि मनोनित खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो।

सार्वजनिक सर्वोत्कृष्ट पुरुष फुटबलर अवार्डको मनोनयनमा करिब १० वर्ष पछि बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो दुवै आउट छन्। यस भन्दा अगाडी मनोनयनमा दुवै अथवा दुई मध्ये एक खेलाडी पर्ने गरेका थिए।

उत्कृष्ट खेलाडी अवार्डमा युरोप च्याम्पियन बायर्न म्युनिखका दुई र म्यानचेस्टर सिटिका एक खेलाडी छन्। युइएफएले प्रदान गर्ने उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा बायर्नका कप्तान तथा गोलकिपर मनुएल न्युयर, बायर्नकै रोबर्ट लेवान्डोस्की र सिटिका केभिन डी ब्रुयने रहेका छन्।

मेस्सी-रोनाल्डो दुवै आउट

करिब एक दशक क्लब फुटबलमा राज गरेका मेस्सी र रोनाल्डो दुवै युइएफएको मनोनयनबाट ‘आउट’ छन्। युइएफएको उत्कृष्ट खेलाडीको मनोनयनमा गत १० वर्ष देखि मेस्सी र रोनाल्डो मध्ये एक जना रहने गरेका थिए। साथै केहि सिजनमा यी दुवै मनोनयनमा पर्ने समेत गरेका थिए।

युइएफए उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा रोनाल्डो ९ पटक परेका छन् भने उनी ३ पटक वर्ष खेलाडी घोषित भइसकेका छन्। उता मेस्सी १० मध्ये ६ सिजनमा मनोनित हुँदा २ सिजन वर्ष खेलाडी घोषित भएका थिए।

उत्कृष्ट प्रशिक्षक

युइएफएले उत्कृष्ट प्रशिक्षकको लागि पनि अन्तिम सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा लिभरपुलका जर्जेन क्लोप, बायर्नका हान्सी फ्लिक र आरबी लेइप्लिजका जुलियन नागेल्सम्यान छन्।

प्रकाशित : बुधबार, असोज ०७, २०७७१४:११

‘मेस्सी बिनाको बार्सिलोना कल्पना पनि गर्न सकिँदैन’ – रोबर्टो