“एम्बाप्पेले रियल म्याड्रिड जाने निर्णय गरिसके”

एजेन्सी – किलियन एम्बाप्पेले आउने सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णय गरिसकेका छन्। एम्बाप्पे सन् २०२२ सम्म पिएसजीसँग अनुबन्धित छन्। तर, यो सिजनको अन्त्यमा क्लब छोड्ने उनको निर्णय छ।

एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरेसँगै विश्वभरका क्लबहरुको ध्यान एम्बाप्पे तर्फ केन्द्रित छ। अहिले देखि नै उनलाई आफ्नो क्लबमा ल्याउन धेरैले लबिङ गरिरहेका छन्। एम्बाप्पे माथि रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड जस्ता क्लबले चासो व्यक्त गरेका छन्।

साथै बेलायती महारथी लिभरपुलले पनि एम्बाप्पेलाई प्राथमिकतामा राखेको छ। लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले यस अगाडी नै एम्बाप्पे बारे आफ्नो धारणा स्पष्ट पारिसकेका छन्। त्यसयता लिभरपुल लगातार एम्बाप्पेसँग सम्पर्कमा रहेको बताइन्छ।

यस्तै रियल म्याड्रिड पनि एम्बाप्पेलाई आउने सिजन फुत्किन नदिने तयारीमा छ। एम्बाप्पेलाई अनुबन्ध गर्न आर्थिक समस्या नहोस् भनेर अहिले देखि नै आर्थिक जोहोमा जुटिरहेको छ।

पैसा जोगाउनैका लागि क्लबले यस सिजन नयाँ खेलाडी नथप्ने देखिएको छ। रियलले यो सिजन खेलाडी विक्री गरेर क्लबले १ सय मिलियन युरो जोगाएको पनि छ।

एम्बाप्पे कता जान्छन् भन्ने चासोको विषय बनिरहेका बेला रियल म्याड्रिड लेजेन्द पाको बुयोले एम्बाप्पेले रियल आउने मनस्थित बनाइसकेको दावी गरेका छन्। एम्बाप्पेले भित्रि रुपमा रियल जाने आत्मनिर्णय गरिसकेको उनको दावी छ।

“लिभरपुलले एम्बाप्पेलाई लिएर अलि बढी नै चासो व्यक्त गरेको भएपनि मलाई यो लाग्छकि उनले रियल आउने निर्णय गरिसकेका छन्।”,एक मिडियासँग कुराकानी गर्दै उनले भने।

प्रकाशित : बिहिबार, असोज ०८, २०७७१४:०९

के मेस्सी र रोनाल्डोको समय अन्त्य भएको नै हो त ?