भक्तपुर : भक्तपुरका ४२ प्रतिशत कोरोना भाइरस संक्रमित लक्षणयुक्त देखिएका छन् । सुरुसुरुमा कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएपनि धेरैजसोमा लक्षण देखिँदैन थियो । यो समाचार आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ।
तर पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमण पुष्टि भएकामा लक्षणसमेत देखिन थालेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार पछिल्लो समय संक्रमितमा लक्षण देखिने क्रम बढेको छ ।
बिहीबारसम्ममा कूल सक्रिय संक्रमितमध्ये ४२.४६ प्रतिशत अर्थात ४ सय जनामा कोरोना भाइरस संक्रमणको लक्षण रहेको उनी बताउँछन् । जसअनुसार २ सय ५६ पुरुष र एकसय ४४ महिलामा संक्रमणको लक्षण रहेका छन् ।
उनीहरुमध्ये कोही होम आइसोलेसन र कोही अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९ सय ३९ रहेको छ । जसमा पुरुष ५ सय ३४ र महिला ४ सय ५ रहेका छन् । यहाँ संक्रमितहरुको कूल संख्या ९ सय ६३ पुरुष र ७ सय ४४ महिला गरी एक हजार ७ सय ७ पुगेको छ ।
जसमध्ये ४ सय १२ पुरुष र ३ सय ३२ महिला गरी ७ सय ४२ जना कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज भएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।