काठमाडौँ – कोरोना भाइरस संक्रमित संख्यामा नेपालले चीनलाई उछिनेको छ। पछिल्ला दिनहरुमा दैनिक संक्रमित संख्या लगातार बढेसँगै संक्रमित संख्यामा नेपालले चीनलाई पनि उछिनेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। जससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। यो चीन भन्दा बढी हो।
अहिले सम्म चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १६ जना मात्रै कोरोना संक्रमित फेला परेका छन्। चीनमा पछिल्लो पटक फेला परेका अधिकांश संक्रमित विदेशबाट आएका छन्। तर, नेपालमा भने कोरोना स्थानीयस्तरमै फैलिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार भने चीनमा अहिलेसम्म ९१ हजार १२१ संक्रमित फेला परेका छन्। हङकङ, ताइवान, मकाउको संक्रमित जोड्दा मात्र त्यो संख्या भएको हो।
कोरोनाले सबै भन्दा पहिला चीनमा महामारीको रुप लिएको थियो। अहिले सम्म त्यहाँ मात्रै ४ हजार ६ सय ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।
नेपालले जापानलाई पनि उछिन्यो
कोरोना संक्रमित संख्यामा नेपालले जापानलाई पनि पछि पारेको छ। आइतबारको थप पुष्टिसँगै नेपालले जापानलाई पनि पछि पारेको हो। जापानमा पछिल्ला दिनहरुमा ५ सय देखि ७ सय सम्म संक्रमित फेला परिरहेका छन्। तर, नेपालमा भने दैनिक २ हजार भन्दा बढी संक्रमित फेला परिरहेको अवस्था छ। जापानमा शनिबार सम्म ८४ हजार ७ सय ४८ संक्रमित फेला परेका थिए। आइतबारको तथ्यांक भने आउन बाँकि छ। तर, नेपालमा जापानमा भन्दा ४ गुणा संक्रमित फेला परिसकेको हुँदा नेपालले जापानलाई पनि पछि पारेको छ।