रोड्रिग्वेज मेस्सी-स्वारेज-नेयमार भन्दा अगाडी !

एजेन्सी – रियल म्याड्रिडबाट एभर्टन गएदेखि हामेस रोड्रिग्वेज लगातार उच्च प्रदर्शन गरिरहेका छन्। रियलमा खासै मौका पाउन नसकेका उनको प्रदर्शन बारे अहिले धेरै नै चर्चा भइरहेको छ।

रियल म्याड्रिडमा रहँदा प्रशिक्षक जिनेदिन जिदानले उनलाई खासै मौका नै दिएनन्। तर, एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले भने रोड्रिग्वेजको राम्रो प्रयोग गरिरहेका छन्।

रोड्रिग्वेजकै प्रभावशालीमा एभर्टनले जारी लिगमा राम्रो प्रदर्शन पनि गरिरहेको छ। रियलमा खासै प्रयोग नगरिएका रोड्रिग्वेजको उच्च प्रदर्शनले यति बेला रियललाई घोचिरहेको छ। अहिले रियलका समर्थक प्रशिक्षक जिनेदिन जिदानको आलोचना गरिरहेका छन्।

एभर्टनबाट ४ खेलमा ३ गोल

रोड्रिग्वेजले एभर्टनबाट अहिले सम्म चार खेल खेलेका छन्। जसक्रममा उनले ३ गोल गर्न सफल भएका छन्। साथै उनले २ असिस्ट पनि गरेका छन्। यसरी ५ गोलमा उनको भूमिका रह्यो। उच्च प्रदर्शन गरेकै कारण उनी सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पनि परेका छन्।

वर्तमान समयमा अन्य दक्षिण अमेरिकी खेलाडी भन्दा अगाडी

सिजनको सुरुवातमा रोड्रिग्वेज अन्य दक्षिण अमेरिकी खेलाडीहरु भन्दा अगाडी देखिएका छन्। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सिजनको शुरुवातमा खासै लयमा देखिएका छैनन्। मेस्सीले अहिले क्लब फुटबलमा एक गोल मात्र गरेका छन्।

यस्तै रोड्रिग्वेज अर्का दक्षिण अमेरिकी खेलाडी उरुग्वेका लुइस स्वारेज भन्दा पनि राम्रो प्रदर्शन गरिरहेका छन्। एथलेटिको म्याड्रिडको लागि २ गोल गरेपनि स्वारेज उच्च लयमा भने देखिँदैनन्।

सिजनको सुरुवातमा ब्राजिलका स्टार खेलाडीले पनि खासै जादु देखाउन सकिरहेका छैनन्। नेयमारले जारी सिजनमा २ गोल र १ असिस्ट गरेका छन्।

तथ्यांकगत हिसाबमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि अहिलेको समयमा रोड्रिग्वेज मेस्सी, नेयमार र स्वारेज भन्दा अगाडी देखिएका छन्। सन् २०१४को विश्वकपको समयमा जस्तै उच्च लयमा रोड्रिग्वेज देखिएका छन्। आउने समयमा उच्च प्रदर्शनलाई उनले निरन्तरता दिन्छन् कि दिंदैनन् भन्ने कुरा समयले नै बताउनेछ।

प्रकाशित : शुक्रबार, असोज २३, २०७७१५:०८

सुआरेजले भने – ‘मेस्सीसँग राम्रो सम्बन्ध भएकै कारण मलाई निकालियो’