‘चीनले सगरमाथा सहित हिमाली जिल्ला खाइसक्यो, तत्काल भारतको सहयोग मागौ’

काठमाडौँ – तराई मधेश वृहत् लोकतांत्रिक मोर्चाकी संयोजक सरिता गिरीले उत्तर तर्फको सीमाको रक्षा गर्न सरकार समक्ष माग गरेकी छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै गिरीले चीनले नेपाली भूमि अतिक्रमण गर्ने नीति लिएको आरोप लगाउँदै सीमाको रक्ष गर्न सरकारसँग माग गरेकी हुन्।

शुक्रबार हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास गरेको विषय बारे प्रतिक्रिया जनाउँदै गिरीले उक्त घटना बारे आधिकारिक जानकारी गराउन माग पनि गरेकी छन्।

सगरमाथामा चीनले अधिपत्य जमाएको समाचार विभिन्न संचार माध्यममा आउँदा पनि सरकार चुप बसेको आरोप पनि उनले लगाएकी छन्। सरकारले उत्तरी सीमानाको रक्षा गर्न नसकेको उनको आरोप छ।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको उनको दावी छ। सरकारले उत्तरी सीमाको रक्षा गर्न नसकेका कारण सन् १९५० मा भएको सहमति अनुसार भारतसँग सहयोग माग्न गिरीले सुझाव दिएकी छन्।

“नेपाल सरकारले मुलुकको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भन्ने कुरा प्रष्ट हुँदा गएको छ। सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्यममा आएका छन्। तर सरकारले यस विषय बारे पनि अहिले सम्म मौनता धारण गरेको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाई रहेको छ। यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले सन् १९५० को भारतसँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिएर सीमाना को सुरक्षा गर्न माग गर्दछु ।”,गिरीले विज्ञप्ति जारी गर्दै भनेकी छन्।

साथै गिरीले डाक्टर गोविन्द केसीको अनशन प्रति पूर्ण समर्थन पनि जनाएकी छन्। विगतमा भएका सम्पूर्ण सहमतिको पालना गरेर डाक्टर केसीको जीवन रक्षा गर्न उनको माग छ।

प्रकाशित : शनिबार, असोज २४, २०७७१२:५५

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन