चीनले भन्यो – ‘नेपालको सीमा मिचेका छैनौँ, प्रो-इन्डियन पार्टी कांग्रेस त्यतिकै उचालिएको हो’

काठमाडौँ – चीनले नेपालको कुनै पनि भूमि नमिचेको दावी गरेको छ। चिनियाँ सरकारको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्सले नेपालको कुनै भूमि नमिचेको दावी गरेको हो।

नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा मिचिएको भनिएको क्षेत्र हुम्लामा अध्ययन टोली नै पठाएको थियो। उक्त टोलिले सीमा पिल्लर नेपालतर्फ २ किलोमिटर भित्र सारेर बनाइएको र नेपाली भूमि मिचेको निष्कर्ष निकालेको थियो।

चीनले सीमा मिचेको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला चीनले नेपालको भूमि नमिचेको दावी दोहोर्‍याएको हो। ग्लोबल टाइम्ससँग कुराकानी गर्दै बुराङका काउन्टीका विदेशी मामिला निर्देशक बकीले चीनले सीमाभन्दा एक किलोमिटर उत्तरतर्फ नै भवन निर्माण गरिएको दावी गरेका छन्।

भवन निर्माणको सम्बन्धमा मे मा नै विस्तृत सर्भे र नक्साङ्कन गरिएको उनको भनाई छ। राम्रोसंग सर्भे र नक्साङ्कन गरिएको गरिएका कारण नेपाली भूमि मिचिने कुरै नआउने उनी बताउँछन्।

बुराङ काउन्टीअन्तर्गत नयाँ गाउँ स्थापनाको लागि भवन निर्माणलाई तीव्र बनाइरहेको र भवन निर्माणअघि नै जनमुक्ति सेना र स्थानीय सरकारी अधिकारीले फिल्ड सर्भे तथा नक्सांकन गरेको ग्लोबल टाइम्सले जनाएको छ।

हुम्लामा चीनले सीमा मिचेको खबर आएपछि नेपालको परराष्ट्रमन्त्रालयले चीनले सीमा नमिचेको बताएको थियो। तर, नेपाली कांग्रेसले भने सरकार हतारमा बोलेको आरोप लगाएको छ।

नेपाल सरकारले चीनले सीमा नमिचेको बताउँदा-बताउँदै नेपाली कांग्रेसले अनावश्यक रुपमा उछालेको चीनको आरोप छ। चीनले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा समेत दिएको छ।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१६:३४

रहेनन् नेपाली चलचित्र क्षेत्रका प्रथम छायाकार बैकुण्ठ मास्के …