जब अनुमति बिना नै करिश्माले बिस्कुट खाएको तस्बिर विज्ञापन बनेर छापियो…

काठमाडौँ, कार्तिक ३ । ‘सन्तान’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर पछिल्लो केही वर्षयता अध्ययनमा व्यस्त छिन् । नेपाली चलचित्रमा एकछत्र राज गरेकी करिश्माले एक समय हिरो सरह स्टारडम बनाएकी थिइन् ।

एकताका चलचित्रको पोस्टरमा उनको टाउको मात्रै राखे पनि फिल्म चल्छ भन्ने विश्वास निर्माता तथा निर्देशकमा थियो । साथै कुनै पनि ब्रान्डको प्रवद्र्धनका लागि विज्ञापनमा उनलाई लिन हानाथाप नै गर्थे ।  जसलाई हाल सामाजिक संजालमा पोस्ट भएको  एक तस्विरले समेत प्रमाणित गर्दछ ।  निर्देशक सुव्रत आचार्यले सामाजिक संजालमा नेविको बिस्कुटको विज्ञापन एक पत्रिकामा छापिएको तस्विर शेयर गरेका छन्। जुन तस्विरमा अभिनेत्री करिश्माले नेबिको बिस्कुट खादै गरेको देखिन्छ। यधपी उक्त तस्विर उनले विज्ञापनको लागि भने खिचाएकी थिइनन्।

उक्त तस्विर फोटोग्राफर सुब्रत धिमालको स्टूडियोमा २०५२ सालमा  फोटोशुट गर्दै गर्दा खाजा खाने समयमा खिचिएको हो। धिमालले खाजा खाने समयमा करिश्मालाई नेबिको बिस्कुट र चिया दिएका थिए। करिश्माले चियासँग चोपेर बिस्कुट खाइरहेको बेला धिमालले उनलाई पोज दिन आग्रह गरे त्यसपछि उनले बिस्कुट टोक्दै  पोज दिइन् । तर करिश्माको अनुमति बिना नेविको बिस्कुटले उक्त तस्विर प्रयोग गरेर पत्रपत्रिकामा विज्ञापन नै छाप्यो । त्यसपछि करिश्माले धिमालको घरमै गएर पारिश्रमिक लिएकी थिइन्।

निर्देशक सुव्रत आचार्यको पोस्टमा कमेन्ट गर्दै करिश्माले लेखेकी छिन्, “यसको  काहानी छ शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चियासंग  यो बिस्कुट दिनु भयो र येसो पोज गरत भनेर यो फोटो खिचियो पछि त यो यस्तो पो आयो बिज्ञापन! मैले पछि धिमाल दाइको घरमै गएर दाइ यो त बिज्ञापन  रहेछ। खोइ मेरो पारिश्रमिक  भनेर लिएरै  छोडे।”

करिश्माले हिन्दी चलचित्र ‘दंगा फसाद’ मा समेत अभिनय गरिसकेकी छन् । अभिनेत्री करिश्मा मानन्धर अहिले भने आफ्नो पढ्ने इच्छालाई पूरा गरिरहेकी छन् । कक्षा ८ मा पढ्दै गर्दा  अभिनयमा होमिएकी करिश्माले त्यसपछि पढाइमा निरन्तरता दिन सकेकी थिइनन् ।

 

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१९:५७

आफ्नो पहिलो फिल्ममा यस्ती देखिन्थे बलिउडका यी ५ अभिनेत्रीहरु!