एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनेल मेस्सी पूर्णलयमा नरहेको बताएका छन्।
च्याम्पियन्स लिग अन्तर्गतको खेलमा फेरेन्कभारोससँग खेल्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा कोम्यानले मेस्सी पूर्णलयमा नरहेको सङ्केत गरेका हुन्। कोम्यानले मेस्सीको खेलमा अझै सुधार हुने ठाउँ रहेको भन्दै मेस्सीले खेलमा थप सुधार गर्ने विश्वास व्यक्त गरे।
“म मेस्सीको प्रदर्शनमा शंका त गर्दिन, तर उनले सुधार गर्न सक्ने ठाउँ भने धेरै छ। र मलाई त्यो विश्वास पनि छ।”,उनले भने,”आउने केहि खेलमै मेस्सी उच्च लय देखिनेछन्।”
साथै मेस्सी प्रदर्शनमा थप सुधार ल्याउन धेरै नै परिश्रम गरिरहेको पनि कोम्यानले बताए। मेस्सीको प्रदर्शनलाई लिएर कुनै पनि गुनासो नरहेको उनको भनाई छ। “मैदानमा हुँदा टिमको नेतृत्व मेस्सी गर्न सक्षम छन्। उनको प्रदर्शनलाई लिएर मेरो कुनै गुनासो छैन।”,कोम्यानले भने।
बार्सिलोना छाड्ने प्रयास असफल भएपछि मेस्सी उच्च लयमा देखिएका छैनन्। ला-लिगा अन्तर्गतका ४ खेल खेलिसकेपनि मेस्सीले पछिल्ला तीन खेलमा गोल गर्न सकेका छैनन्। जारी सिजनमा उनले मात्रै एक गोल गरेका छन्। जुन उनले पेनाल्टी मार्फत गरेका थिए।
पछिल्ला ३ खेलमा गोल गर्न नसकेसँगै मेस्सीले लय गुमाएको भनेर भन्न थालिएको छ भने केहिले मेस्सी बार्सिलोनामा खुशी नरहेका कारण राम्रो प्रदर्शन गर्न नसकिरहेको बताइरहेका छन्।