काठमाडौँ – कोरोना भाइरस संक्रमितको उपचारबाट सरकार पछि हटेसँगै अस्पतालहरुले कोरोना भाइरस संक्रमितको भर्ना गर्नको लागि धरौटी नै तोक्न थालेका छन्।
काभ्रे स्थित धुलिखेल नगरपालिकामा रहेको धुलिखेल अस्पतालले कोरोना संक्रमित बिरामी भर्ना गर्नका लागि कम्तीमा ५० हजार नगद धरौटी राख्नै व्यवस्था गरेको छ।
उक्त व्यवस्था बारे अस्पतालले सोमबार एक सूचना जारी गर्दै जानकारी गराएको छ। कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेसँगै त्यस्तो व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार कोरोना भाइरस संक्रमणका सामान्य लक्षण भएका बिरामीले दैनिक ३५ सय रुपैयाँ तिर्नुपर्ने छ। यसको अलावा औषधि तथा रोग निदानमा हुने थप खर्च पनि संक्रमितले नै बेहोर्नुपर्नेछ। यस्ता बिरामी भर्ना हुँदा ५० हजार धरौटी राख्नुपर्नेछ।
यस्तै मध्य जटिल लक्षण भएका र जटिल समस्या भएका संक्रमित भर्ना गर्दा क्रमश १ लाख र २ लाख धरौटी राख्नुपर्ने छ। मध्य जटिल लक्षण भएकाहरुको दैनिक ७ हजार ५ सय लाग्नेछ भने आइसीयुमा राख्नुपर्ने संक्रमितहरुको दैनिक १५ हजार लाग्नेछ।