काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहिबार दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले सरकारको निर्णय प्रति असन्तुष्टि जनाउँदै जनता बाँचे मात्र राज्य रहने बताएका हुन्।
जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको शाहको आरोप छ। शाहले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत रहन सरकारलाई आग्रह समेत गरेका छन्।
“जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।”,शाहले सन्देश जारी गर्दै भनेका छन्।
साथै शाहले वर्तमान राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप पनि लगाएका छन्। यसैले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम मिल्न नसकिरहेको उनको बुझाई छ।
सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको प्रति उनले चिन्ता व्यक्त गरेका छन्।
“दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ। नि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुत्ति चाहिरहेका छन्।”,शाहद्वारा जारी संदेशमा भनिएको छ।