‘हरिबंशलाई कोरोना भयो, तर मलाई मास्कले बचायो’

काठमाडौँ – वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठले कोरोना भाइरस संक्रमणलाई सामान्य ठानेर लापरवाही नगर्न आग्रह गरेका छन्।

अर्का वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमण हुँदा आफूलाई नभएको विषयलाई जोडेर श्रेष्ठले सामाजिक संजाल मार्फत सामाजिक दूरी अपनाउन र मास्कको प्रयोग गर्न सबैमा आग्रह गरेका हुन्।

कामका बेला सँगै रहेर पनि मास्ककै कारण आफू कोरोना संक्रमणबाट बचेको श्रेष्ठ बताउँछन् । मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ भन्ने उनको अनुभाव छ।

श्रेष्ठले मास्कले उनलाई कसरी कोरोनाबाट बचायो भन्ने बारे फेसबुक मार्फत स्पष्ट पारेका छन्।

फेसबुकमा श्रेष्ठले यसो लेखेका छन् –

हरिबंशलाई कोरोना पोजेटिभ भैसकेकोरहेछ यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा कुरै नगरे पछि बिचरा हाम्रो छेउछाउमा उभिएका बसेकाहरुलाई त झन सङ्का सम्म पनि नहुनु स्वाभाबिकै थियो ।

हामी त दुई दिन सम्म मजाले शुटिङमा ब्यस्त भएर, एउटै गाडि धेरै बेर सम्म चढेर हिंडीरहेका थियौं । भोली पल्ट हरिले फोन गरेर दाई मलाई त कोरोना पोजेटिभ पो त देखियो त …! ? भन्दा त लौ मार्यो …

एक छिन त म पनि झसंग भएं। किनभने हरिबंश कोरोनाको लागि हड्डी बराबर हुन सक्ला तर म त कोरोनाको लागि एकदम मीठ्ठो कवाफ बराबर हुन सक्छ ।

तर मेरो स्वाथ्यमा कोरोनाको कुनै लक्षण देखापरिरहेको थिएन तैपनि सतर्कताकासाथ घरैमा आईसोलेशनमा बसिरहें । एक हप्ता पछि टेष्ट गराउँदा एउटै गाडी चढेका म समेत चारैजनाको रिपोर्ट नेगेटिभ आयो ।

कामका बेला हामीले बेला बेलामा स्यानिटाईजर दलेका थियौं, सोसियल डिस्टायन्समा होश पुर्याएकै थियौं। तर एउटै गाडी चढ्दा भने डिस्टायन्स खासै मेन्टेन हुन सकिरहेको थिएन ।

तर पनि सबैको रिपोर्ट कसरि नेगेटिभ भयो होला भनेर सोंच्दा गाडीमा चढेमा हामी सबैले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।
त्यस पछि लाग्यो मास्कले धेरै हद सम्म कोरोनाबाट बचाउँन मदत पुर्याउँदो रहेछ जस्तो लाग्यो। त्यसैले साबुनपानी, स्यानीटाईजर र सामाजिक दूरिका साथै मास्क लगउन बिषेश ध्यान दिनु होला है ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१६:५६

कांग्रेस नेता विश्वकर्मा होशमा आए !