“कमरेड ! आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्नु पर्ने लज्जास्पद अवस्थामा पुग्नु भएको बिर्सनुभयो?”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भीर नैतिक प्रश्न उठाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दै आफ्नै पार्टीको सरकार विरुद्ध षड्यन्त्र गर्ने प्रचण्ड माथि गम्भीर नैतिक प्रश्न उठेको बताएका हुन्।

प्रचण्डबाट आफूलाई सरकार र पार्टी सञ्चालनका क्रममा ठूलो असहयोग भएको ओलीको भनाई छ। प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रस्तावको भाषा शैली र आरोपले उनीभित्रको आक्रोश, आग्रह, घृणा र कुण्ठा देखाएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

यस भन्दा अगाडी अनि प्रचण्डबाट धोका भइसकेको अवस्थामा समेत आफूले कुनै प्रश्न नगरी सहकार्य गरेको ओलीको भनाई छ। नाकावन्दीको समयमा बनेको सरकार प्रचण्डकै डिजाइनमा ढालिएको बारे कहिले पनि आफूले प्रश्न नगरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रचण्ड कतै एमालेलाई मुलुकबाट किनारा लगाउने डिजाइन सहित त अगाडी बढेका छैनन् भन्ने तर्फ पनि ओलीले शंका व्यक्त गरेका छन्।

दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा निस्तेज भएको र विलयनको बाटोमा गएको ओलीले प्रचण्डलाई स्मरण गराएका छन्। साथै प्रचण्डले आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिएको समेत आरोप लगाएका छन्।

ओलीले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनको केहि अंश निम्न छ-

८. संविधान निर्माणपछि पूर्वसहमति अनुसार मेरो नेतृत्वमा संयुक्त सरकार बन्यो । हाम्रा बीचमा, सरकार बनाउने कुरामा मात्रै होइन, निर्वाचनसम्म सँगै जाने, संयुक्त रुपमा निर्वाचन लड्ने र निर्वाचनपछि पार्टी एकता गर्नेसम्मका सहमति भएका थिए । नाकाबन्दी जस्तो प्रतिकूल र इतिहासकै कठिन कालखण्डमा निर्माण भएको, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र मुलुकको उज्ज्वल भविष्यका लागि युगान्तकारी काम गर्दै अगाडि बढेको सरकारलाई ढाल्न, सरकार गठन भएको सात महिना नबित्दै तपाईं स्वयं अग्रसर हुनुभयो । सहमतिका साथ अगाडि बढ्ने यावत् प्रयाश र प्रस्तावलाई लत्याएर आफैले प्रस्ताव गरेको, आफ्नै पार्टी सम्मिलित सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न आफ्ना मन्त्री साथीहरुलाई झण्डा हल्लाउँदै जान निर्देशन दिनुभयो । यसो गर्दा तपाईंलाई नैतिकताको प्रश्नले अलिकति पनि छोएन है भनेर मैले कहिल्यै सोधिनँ ।

त्यसपछि एउटा प्रयाशको अगुवाइ गर्नुभयो, एमालेलाई मुलुकबाट किनारा लगाउने । त्यतिबेलाको तपाईंको गठबन्धनका एकजना नेताले बारम्बार उल्लेख गर्ने गरेको ‘एमालेबिहीन मुलुक’ प्रति तपाईंको प्रतिक्रिया के थियो, मैले कहिल्यै सोधिनँ । तर त्यो प्रयोग असफल भयो । स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रुपमा उदायो । दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो । अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पुर्यायो ।

तपाईंका अगाडि एउटा गंभीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक संभावनाको खोजी गर्ने । ठिक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको । मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन– कमरेड, आफै सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ?

म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामको लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ । तर जब आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरुले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गंभीर नैतिक प्रश्न त उठ्छ नै ।

प्रकाशित : शनिबार, मङि्सर १३, २०७७१६:५३

प्रचण्डलाई च्यालेन्ज – ‘महाधिवेशनमा भिड्ने भए तयार छु, हिम्मत छ?’