सरकारले भन्यो – ‘भ्रष्टाचार बारे टिआई प्रतिवेदन मान्दैनौं’

काठमाडौँ – सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले हालै सार्वजनिक गरेको प्रतिवेदन आधारहीन भएको दाबी गरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बदनाम गरिएको आरोप लगाएका हुन्।

अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले प्रतिवेदन आएको जनाउँदै मन्त्री गुरुङले त्यसलाई खारेज गरिएको दाबी गरे।

‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकाले पनि यो प्रतिवेदनलाई खारेज गरिएको हो,’ गुरुङले भने, ‘ सरकारविरुद्ध मिसनको रूपमा प्रतिवेदन तयार पारिएको छ। सरकारप्रति वितृष्णा जगाउने काम गरिएको छ।’

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) एसियाको प्रतिवेदनअनुसार नेपालमा एक वर्षको अवधिमा भ्रष्टाचार निकै बढेको र राष्ट्रपति, प्रधानमन्त्री नै भ्रष्टाचारी रहेको ५० प्रतिशत नेपालीले विश्वास गर्ने अध्ययनले देखाएको उल्लेख गरेको थियो। नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशका लागि ठूलो समस्या सोच्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रकाशित : सोमबार, मङि्सर १५, २०७७०८:३८

ट्रान्सपरेन्सीको प्रतिवेदन किन विवादमा ?