एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको क्रोटोनमाथि ४–० को फराकिलो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ ।
नेपोलीले गोल अन्तरमा युभेन्ट्सलाई पछि पार्दै तेस्रो स्थानम उक्लन सफल भएको हो । नेपोली र युभेन्ट्सको समान १० खेलबाट २० अंक छ । शीर्ष दुईमा रहेका एसी मिलानको २६ तथा इन्टर मिलानको २१ अंक छ । पराजित क्रोटोन २ अंक जोडेर पुछारमा छ ।
आइतबार राति क्रोटोनको मैदानमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने, हिर्भिङ लोजानो, डिएगो डिम्मी र एन्ड्रिय पेटाग्नाले गोल गरे । क्रोटोन १० खेलाडीमा समेटिएपछि नेपोलीले तीन गोल थपेको थियो ।
३१औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पिओटर जिलिन्स्कीको पासमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जाकोपो पेट्रिकसिवन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि क्रोटोन १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा नेपोलीले उठाउन सफल भयो ।
५८औं मिनेटमा इन्सिग्नेको पासमा लोजानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा ड्रिएस मेर्टिन्सको पासमा डिएगो डिम्मीले गोल गर्दै नेपोलीलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेर्टिन्सकै पासमा एन्ड्रिया पेटाग्नाले गोल गर्दै नेपोलीलाई ४–० को फराकिलो जित दिलाए ।