काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले सरकार हटाउने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन्।
गृह जिल्ला चितवन पुगेका बेला सोमबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गृहमन्त्री थापाले संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका हुन्।
गृहमन्त्री थापाले व्यवस्था उल्टाउने र विस्थापित गर्ने राजवादी र अन्य शक्तिहरुको सपना पुरा बताए। उनले कांग्रेस, चन्द नेकपा राजावादी सबै शक्ति व्यवस्था विरोधी रहेको समेत बताएका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले पनि कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ कि भनेर आन्दोलन थालेको गृहमन्त्री थापाले आरोप लगाए। राजावादीहरु गणतन्त्र विस्थापित गर्न, चन्द व्यवस्था बिस्थापित गर्न र कांग्रेस सरकार विस्थापित गर्ने खेलमा लागेको उनको आरोप छ।
पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने उनले स्पष्ट पारे।
नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।
सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ
गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताए ।
उनले भने, “सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।” उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए । गृहमन्त्रीले भने, “सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।”
उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ ।
भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाउँदै अघि बढ्ने बताए । उनका अनुसार देशका सिमानामा ५०० बिओपी पुर्याइने छ । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराएका थिए थियो । सो बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।