अध्यादेश विरुद्ध प्रचण्ड परिवारको एक स्वर ! कसले के भने ?

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की स्वकीय सचिव गंगा दाहालले संवैधानिक परिषद् अध्यादेश जारी गरिएको प्रति आपत्ति जनाएकी छन्।

नेकपा भित्रको विवादका कारण सरकारले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेसँगै सामाजिक संजाल मार्फत दाहालले आपत्ति जनाएकी हुन्।

पार्टीको स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत रहेको प्रचण्ड पुत्री दाहालको भनाई छ।

संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरी ल्याइएको अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको भन्दै दाहालले अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने बताएकी छन्।

“नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ, एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मूलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।”,गंगा दाहालले फेसबुकमा लेखेकी छन्।

यस्तै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पनि अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन्। संसद बैठक बोलाउनु पर्ने समयमा अध्यादेश जारी गर्नु गलत भएको उनको भनाई छ।

प्रचण्ड भन्छन्,”दलहरुले संसद बैठक बोलाउन भनिरहेका बेला सरकारबाट अध्यादेश आउनु बदनियतपूर्ण छ। अध्यादेश खारेज गर्नुपर्छ।”

प्रचण्ड परिवारकै अर्की सदस्य खानेपानी मन्त्री बिना मगरले पनि अध्यादेशको विरोध गरेकी छन्। प्रचण्डकी बुहारी मगरले जारी भएको अध्यादेश सहमतिय नभएको बताएकी हुन्। मगरले पनि अध्यादेश फिर्ता गर्न माग गरेकी छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१७:३४

अध्यादेश आएपछि राष्ट्रपतिसँगको साँठगाँठमा ओलीले देश सिध्याउने भए भन्दै गर्जिए गगन !