हालान्ड रियल म्याड्रिडको उच्च प्राथमिकतामा !

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्ड वर्तमान समयमा विश्वको उत्कृष्ट फरवार्डमा गनिन्छन् । कम उमेरको बाबजुद पनि उनले युरोपेली फुटबलमा आफ्नो प्रभाव जमाइसकेका छन् ।

गत सिजन साल्जबर्गबाट उत्कृष्ट प्रदर्शन गर्दै जर्मन क्लब बोरुसिया डर्टमुन्ड आएका उनले आफ्नो लय कायमै राखे । जर्मन लिग मात्र नभएर च्याम्पियन्स लिगमा पनि उनले लगातर गोल गरिरहेका छन् । मात्र २० वर्षको उमेरमा उनले यो उपलब्धि हासिल गर्दा युरोपका ठूला क्लबले पनि उनीमाथि नजर राखेका छन् । पछिल्लो समय विश्व फुटबलमा नम्बर ९ पोजिसनको खेलाडीमा केहि कमी आउँदा हालान्डको उदयले केहि फरकपन ल्याएको छ ।

शारीरिक रुपमा निकै बलिया हालान्डको गति पनि तेज छ । उनको फिनिसिङ उनको खेलको मुख्य पक्ष हो । हालान्डको गोलमा प्रयास गर्ने शैली र गोलमा परिणत गर्दाको सफलता युरोपकै उत्कृष्ट मध्यम पर्छ । पछिल्लो समय उनको अनुपस्थितिमा टोलीको नतिजा खराब हुँदा प्रशिक्षक लुसिएन फाभ्रले बर्खास्ती नै पाए । यसले पनि उनको प्रभाव प्रष्ट पारेको छ ।

हालान्डले टोलीमा पुनरागमन गरेपछि भने नतिजा पुन सुधार हुँदै आएको छ । उनको प्रभावले नै टोलीको नतिजामा असर पर्ने हुनाले उनको महत्त्व बढ्नु स्वभाविक हो । डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले भने युवा फरवार्डले आफ्नो खेललाई अझै स्तरीय बनाउन तत्काल क्लब छाड्न नहुनेमा जोड दिन्छन् । यद्यपि एक दिन इर्लिङ हालान्डले बोरुसिया डर्टमुन्ड छाड्ने विषय क्लब व्यवस्थापनले पनि बुझेको छ ।

‘डर्टमुन्डमा उनको भूमिका कस्तो छ इर्लिङ र उनका एजेन्ट मिनो राओलालाई राम्ररी थाहा छ,’ वाट्क्जेले भनेका थिए, ‘रोर्बेट लेवान्डावस्की जस्तै गर्न म उनलाई सल्लाह मात्र दिन सक्छु । जसले विश्व स्तरीय खेलाडी बन्नका लागि समय लिएका थिए ।’

एकै वर्षमा कोहि पनि स्तरीय खेलाडी बन्न नसक्नेमा पनि वाट्क्जेले सुझाए । ‘हामीलाई राम्ररी थाहा छ कि इर्लिङले डर्टमुन्ड भन्दा ठूलो टोलीका लागि क्लब छाड्नेछन् । त्यति बेला उनलाई लिन सक्ने क्लब धेरै हुने छैनन्,’ वाट्जकेले थपे, ‘यदि उदाहरणका लागि उनी रियल म्याड्रिड आबद्ध हुन चाहन्छन् भने उनले आफूलाई माथिल्लो स्तरमा पुर्याउनुपर्ने हुन्छ ।’

रियलले पनि हालान्डलाई नै अब आफ्नो मुख्य योजनामा राखेको छ । किलियन एम्बापपेलाई लामो समयदेखि पछ्याएपनि रियलको प्रयास लगातार असफल भएपछि अब स्पेनिस क्लबले ध्यान मोडेको छ । एम्बापपे पिएसजीमा नै रहने सम्भावना बढेपछि पनि रियलले अब प्राथमिकतामा परिवर्तन गरेको हो ।

प्रकाशित : बुधबार, पुष २९, २०७७२०:२४

रोनाल्डोको त्यो गोल जसले उनलाई फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनायो [भिडियो सहित]