एजेन्सी – रियल सोसिडाडलाई बुधबार पेनाल्टी सुटआउट हराउँदै बार्सिलोना सुपरकोपा डि स्पानाको फाइनल पुगेको थियो । तर त्यसमा कप्तान लिओनल मेस्सी थिएनन् । आइतबार हुने फाइनलमा उनी खेल्ने नखेल्ने अझै तय भएको छैन ।
ग्रानाडाविरुद्धको खेलका दौरान मेस्सीको बायाँ खुट्टामा चोट लागेको थियो । बिहीबार बार्सिलोना प्रशिक्षणमा फर्कंदा मेस्सी टोलीमा थिएनन् । उनले शुक्रबारको प्रशिक्षण पनि गुमाए । फाइनलका बारेमा के हुने भन्ने विषयमा क्लबले अहिले कुनै निर्णय लिएको छैन ।
अब फाइनलअघि बार्सिलोनाले शनिबार साँझ अन्तिम प्रशिक्षण गर्दैछ । उक्त प्रशिक्षणमा मेस्सीको अवस्था हेरेर प्रशिक्षक कोम्यानले फाइनल खेल्ने वा नखेल्ने निर्णय गर्नेछन् । मेस्सीको फिटनेस हेरेर मात्र उनका बारेमा थप निर्णय लिने बताइएको छ । पछिल्लो समय चोटका कारण निकै समस्यामा रहेका मेस्सीलाई लिएर जोखिम मोल्ने मनसाय कोम्यानले राखेका छैनन् ।
ला लिगाको अघिल्लो खेलमा मेस्सीलाई खेल्न गाह्रो हुने अनुमान गरिएको थियो । तर, त्यसको भएन । उनको अवस्थामा सुधार भएको थियो । आइतबार हुने फाइनलका लागि मेस्सीका लागि अन्तिम समय सम्म पनि बार्सिलोनाले कुर्ने सम्भवना छ ।
मेस्सीले पछिल्ला खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्दै लगातार गोल र असिस्ट गरिरहेका छन् । विशेषत उनको पेड्रीसँगको समझदारी राम्रो हुँदा टोलीलाई प्रत्यक्ष फाइदा पुगेको छ । अर्कोतर्फ मेस्सी नहुँदा टोलीको आक्रमण नै कमजोर भएको आभास समेत भएको छ । त्यसैले फाइनल खेलमा मेस्सी टोलीको अवस्था अनुसार उपलब्ध हुने देखिन्छ ।
मेस्सीलाई बेन्चमा राखेर खेलमा आवश्यक परे उतार्ने विकल्प पनि कोम्यानसँग रहनेछ । गत सिजन उपाधि विहिन रहेको बार्सिलोनालाई यस सिजन उपाधि जित्दै सुरुवात गर्ने सुवर्ण अवसर छ । त्यसमा मेस्सीको उपस्थितिले पनि पक्कै प्रभाव पार्नेछ ।