ओलीलाई जोडेर इजलासमै किन सुनाइयो अन्जु पन्तको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध दायर रिटको सुनुवाईका क्रममा संवैधानिक इजलासलाई एक अधिवक्ताले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीत सुनाएका छन्।

बिहीबारको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग जोडेर सुनाएका हुन्। पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै घिमिरेले उक्त गीतका केहि हरफ सुनाए।

प्रधानमन्त्रीले लिखित जवाफमा गरेको परम्पराका कुराले आफूलाइ अन्जु पन्तको गीत याद आएको बताए। प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गर्दा परम्परालाई आधार मानेको भन्दै घिमिरेले उक्त गीत याद गरे।

“एउटा गीत छ श्रीमान् अन्जु पन्तको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्ने जो निकै व्यापक भएको थियो, उहाँको लिखित जवाफ देखेर मलाई त्यही याद आयो”,उनले भने।

संसद विघटन जस्तो निर्णय गर्दा समेत ओलीले कसैसँग पनि छलफल नगरेको भन्दै उनले आपत्ति जनाए। संविधानसभाको चुनाव नै दुई पटक भएको र दुवै सभामा ब्यापक छलफल पश्चात तयार भएको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको भन्दै उनले ओलीको आलोचना गरे।

“विघटन गर्दा उहाँले कसैसँग सल्लाह गर्नुभएन, सभामुखसँग पनि छलफल गर्नु भएन। अनि परम्परा देखाएर विघटन गर्नु भो। कही नभएको कुरा हाम्रा संविधानसभाको चुनाव नै दुई पटक भएको थियो। दुबै सभामा व्यापक छलफल गरेर ल्याएको यो संविधान हो जसले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको छैन।”,उनले भने।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१३:५५

ओली पशुपति जाँदा प्रचण्डले भैंसी पूजा गरेको चर्चा !