नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भोलि बिहिबार नेपाल बन्द गर्ने भएको छ। सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिने बारे जानकारी दिएका हुन्। उनले सबैलाई बन्द सफल पार्नको लागि आग्रह समेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक निरंकुश जनविरोधी कदम चलेको पनि उनले उल्लेख गरेका छन्।
त्यस्तै, प्रचण्ड-नेपाल पक्षको नेकपाले आजै आकस्मिक पत्रकार सम्मेलन डाकेको छ। आज दिउसो २ बजे पेरिसडाँडामा त्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अधिकारी प्रमुखहरुलाई सपथ खुवाएको बारे छलफल हुने सम्भावना रहेको छ। सरकारको उक्त कदम प्रति प्रचण्ड पक्ष रुष्ट बनेको छ।
बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। संवैधानिक परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

