प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोको गोल, रोमा पराजित !

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा रोमालाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिना टुरिनमा युभेन्टसको खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस सहज जिततर्फ अघि बढेको थियो ।

जुआन कोर्डाडोबाट डिजान कुलुसेभ्स्कीले गरेको क्रसलाई क्लियर गर्ने क्रममा इवानेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–० ले विजयी हुन सफल भयो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ५ अंकले तथा इन्टर मिलानसँग ४ अंकले पछि छ । पराजित रोमा ४० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली जिनोआसँग २–१ ले पराजित भएको छ । जिनोआका लागि दुवै गोल गोरान पाण्डेभले गर्दा नेपोलीका माटियो पोलिटानोले गोल गरेपनि हार टार्न सकेन ।

यस नतिजासँगै जिनोआ २१ खेलबाट २४ अंक जोडेर ११औं स्थानमा उक्लदा नेपोली ३७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, माघ २५, २०७७०९:१६

रोनाल्डो वा मेस्सी ? यी ५० फुटबलका ठूला नामको नजरमा को उत्कृष्ट ?