काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री पद नचाहिएको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री पद नचाहिएको बताएका हुन्। संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओलीको हार शुरु भएको उनको भनाई छ।
प्रधानमन्त्रीको कुर्सीका लागि आफूहरुले लुछाचुँडी नरहेको जिकिर प्रचण्डले गरे। पाँचै वर्ष प्रधानमन्त्री बन्न आफूले भनेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हल्ला गर्दै हिँडेको उनले आरोप लगाए।
“केपीलाई पाँचै वर्ष प्रधानमन्त्री खानुहोस् भन्ने मान्छे मै हुँ”,दुखेसो पोख्दै उनले भने,”उनले पाँचै वर्ष प्रधानमन्त्री खाउन्, बरू आफू अध्यक्ष पदमै बसेर देशभर दुःख गर्न तयार रहेको छु भन्दापनि प्रधानमन्त्री पदका लागि झगडा गरेको भनी प्रचार गरे।”
यस्तै प्रचण्डले ओलीको हार निश्चित रहेको पनि दावी गरेका छन्। ओली समूहले धाकधक्कु लगाएपनि अहिले रक्षात्मक अवस्थामा गइसकेको प्रचण्डले दावी गरे। केहि दिन अगाडी नारायणहिटी अगाडी भएको सभामा ३५ हजार भन्दा बढी मानिसहरु सहभागी नभएको प्रचण्डको दावी छ।
“ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा सुरु भएको छ।”,उनले भने,”केपी ओली रक्षात्मक हुनेतिर गइसके । उनीहरुको डिफेन्सिभ हुने वातावरण बनिसक्यो । अस्ति धाकधक्कु मात्रै धेरै लगाए।”