एजेन्सी – उरुग्वेली फरवार्ड लुइस स्वारेजले क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। रियल म्याड्रिडका लागि खेल्दै रोनाल्डोले बनाएको एक रेकर्ड स्वारेजले सोमबार राति तोडेका हुन्।
सेल्टा डि भिगो विरुद्ध २ गोल गरेसँगै स्वारेज एक क्लबबाट सबै भन्दा छिटो १६ गोल गर्ने शताब्दीकै पहिलो खेलाडी बनेका छन्। यस अगाडी उक्त रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा थियो। यहि सिजन बार्सिलोनाबाट एट्लेटिको पुगेका स्वारेजले मात्रै १७ खेलमा १६ गोल गर्दै रोनाल्डोको रेकर्ड तोडेका हुन्।
सन् २००९-१०को सिजनमा रोनाल्डोले रियल म्याड्रिडका लागि १५ गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडबाट म्याड्रिड आएपछि उक्त सिजनमा रोनाल्डोले १७ खेलमा मात्रै १५ गोल गरेका थिए। तर, स्वारेजले १७ खेलमा १ गोल बढी गरेसँगै रोनाल्डोको रेकर्ड तोडिएको छ। यससँगै स्वारेज लालिगामा सबै भन्दा छिटो १६ गोल पूरा गर्ने २१ औं शताब्दीकै पहिलो खेलाडी बनेका छन्।
शिर्ष गोलकर्ता
स्वारेज लालिगाको जारी सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी पनि रहेका छन्। जारी सिजनको गोलकर्ताको सूचीमा स्वारेज शिर्ष स्थानमा छन्। सेभियाका युस्सेफ इन न्यास्री र बार्सिलोनाका लियोनेल मेस्सीले समान १३ गोल सहित स्वारेजलाई पछ्याइरहेका छन्।
रोकियो एट्लेटिको
स्वारेजको दुई गोलका बावजुत पनि शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ। सेल्टाका लागि सान्टी मिना र फकुन्डो फेरेराले गोल गरेपछि एट्लेटिको बराबरीमा रोकिएको हो।
लालिगाको जारी सिजनमा एट्लेटिले राम्रो प्रदर्शन गरिरहेको छ। स्वारेजको उपस्थितमा थप बलियो बनेको एट्लेटिको अहिले लिगको शिर्ष स्थानमा छ। एटलेटिकोले २१ खेलबाट ५१ अंक बटुलेको छ। दोस्रो र तेस्रो स्थानमा रहेको बार्सिलोना र रियल म्याड्रिड एट्लेटिको भन्दा ८ अंकले पछि छन् भने एट्लेटिकोले एक खेल खेल्न अझै बाँकि छ। बार्सिलोना र रियलको समान ४३ अंक छ ।