युभेन्टस कोपा इटालियाको फाइनलमा !

एजेन्सी – युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्टस उपाधिनजिक पुगेको हो ।

सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २–१ ले पराजित गरेको थियो । जसमा युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काएका थिए ।

युभेन्टसको घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको १०औं मिनेटमा फेडरिको बर्नरडेस्चीले लोउटारो मार्टिनेजलाई लडाएको भन्दै इन्टरले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई कुनै वास्ता गरेनन् ।

२५औं मिनेटमा क्रिस्टियन इरिक्सनको फ्रिकिकमा रोमेलु लुकाकुको फ्लिक प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २८औं मिनेटमा इरिक्सनको कर्नरमा मार्टिनेजले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ४३आं मिनेटमा रोनाल्डोले सुवर्ण अवसर गुमाउदा युभेन्टस अग्रता लिनबाट चुक्यो ।

५२औं मिनेटमा इन्टरका निकोलो बरेल्ला चुके । ५८औं मिनेटमा मार्टिनेजको प्रयासलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले विफल पारे । ६४औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहारलाई इन्टरका गोलरक्षक समिर हान्डानोभिकले उच्कृष्ट बचाउ गर्दै संकट टारे ।

७०औं मिनेटमा रोनाल्डोको अर्काे प्रहारलाई गोलरक्षक हान्डानोभिक नै बाधक बन्दा युभेन्टस अग्रत लिनबाट चुक्यो । ७५औं मिनेटमा डिजान कुलुसेभ्स्कीको प्रहारलाई हान्डानोभिकले अर्काे उत्कृष्ट बचाउ गर्दै इन्टरको संकट टारे । त्यसपछि पनि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

अब युभेन्टसले उपाधिका लागि नेपोली र एटलान्टाबीचको विजेतासँग २० मेमा प्रतिस्पर्धा गर्नेछ ।नेपोली र एटलान्टाबीचको सेमिफाइनलको दोस्रो लेग आज राति हुदैछ । खेल एटलान्टाको मैदानमा राति १ः३० बजे हुनेछ । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए ।

प्रकाशित : बुधबार, माघ २८, २०७७११:०१

“सालाह अफ्रिकाका मेस्सी हुन्”