एजेन्सी – जर्मन क्लब बायर्न म्यूनिखका सीईओ कार्ल–हेन्ज रुम्मेनिग्गेले मोहमद सालाह अफ्रिकाको मेस्सी भएको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा रुम्मेनिग्गेले मोहमद सालाहको प्रशंसा गर्दै सालाह अफ्रिकाको मेस्सी नै रहेको बताएका हुन्। सालाहसँग विश्वकै उत्कृष्ठ क्लबबाट खेल्ने कौशलता रहेको रुम्मेनिग्गेले बताए।
“मेरो विचारमा सालाह अफ्रिकाको मेस्सी हुन् र पक्कै पनि उनीसँग विश्वको सर्वश्रेष्ठ टिमको लागि खेल्ने सीप छ।”,ओएन टाइम स्पोर्ट्सलाई दिएको अन्तर्वार्तामा रुम्मेनिग्गेले भनेका छन्।
पछिल्ला केहि वर्षहरुमा सलाहले हाँसिल गरेको सफलता र मैदानमा गरेको प्रदर्शनले उनलाई मेस्सी र रोनाल्डोसँग तुलना गर्न सकिने रुम्मेनिग्गेको भनाई छ।
रुम्मेनिग्गे भन्छन्,”उनले जे हाँसिल गरेका छन् र जस्तो प्रदर्शन गरिरहेका छन्, त्यसलाई मेस्सी र [क्रिस्टियानो] रोनाल्डोले बार्सिलोना र रियल म्याड्रिडमा गरेको प्रदर्शनसँग तुलना गर्न सकिन्छ।”
पछिल्लो केहि समय देखि सालाहले लिभरपुल छाड्ने चर्चा पनि चलिरहेको छ। त्यस विषयमा समेत रुम्मेनिग्गेले टिप्पणी गरे। आफू सालाहलाई बायर्नमा ल्याउने आफूहरुको योजना नरहेको उनले स्पष्ट समेत पारे।
“यस समयमा हामी सालाहमा हस्ताक्षर गर्ने योजनामा छैनौं। तर, पक्कै पनि उनलाई पाउनु सम्मानको कुरा हो।”,उनले भने।