काठमाडौं । भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाइने भएको छ । मन्त्री, नेताहरुको सुरक्षामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको तर जनताको सुरक्षामा सुरक्षाकर्मी कम भएको गुनासो आईरहेका बेला यस्तो तयारी भएको हो । सात वटै प्रदेशका प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउन थालिएको छ । मन्त्रीहरूलाई बडिगार्ड तथा अगुवा–पछुवा गाडीमा दिँदै आएको सुरक्षाबाट सशस्त्र प्रहरी हटाउन थालिएको हो । यसक्रममा बिहीबार प्रदेश–२ सुरक्षा समितिको बैठकमा सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउने सम्बन्धमा जानकारी दिइएको प्रदेश–२ का सशस्त्र प्रहरी प्रमुख (डिआइजी) चन्द्रप्रकाश गौतमले बताए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
‘नयाँ कार्यविधिअनुसार प्रदेशका मन्त्रीहरूलाई दिइँदै आएको सशस्त्र प्रहरीको सुरक्षा फिर्ता गर्ने भन्ने उल्लेख रहेकाले सोही कार्यविधि कार्यान्वयनका क्रममा सुरक्षा समितिको बैठक बसेको हो,’ गौतमले भने । फिर्ता गर्नेबारेमा जानकारी दिएपछि एक दुई दिनभित्रै सुरक्षाकर्मी फिर्ता हुनेछन् । अब सशस्त्र प्रहरीको ठाउँमा नेपाल प्रहरीले सुरक्षा दिन्छ । ‘नेपाल प्रहरीको सुरक्षाकर्मी तयार नहुञ्जेलका लागि मात्र हाम्रो सुरक्षा खटिन्छ, नेपाल प्रहरीको तयार भएपछि हाम्रा सुरक्षाकर्मी फिर्ता हुन्छन्,’ उनले भने । हालै गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि–२०७७ जारी गरेको थियो । सो कार्यविधिमा प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउने उल्लेख छ ।
प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाएर त्यसको ठाउँमा नेपाल प्रहरी खटाउने भन्ने कार्यविधि रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । प्रदेश २ मा ३९ जना सशस्त्र प्रहरीहरू मन्त्रीहरूको सुरक्षामा खटिएका छन् । तीमध्ये आन्तरिक मामिला मन्त्रीको सुरक्षामा ८ जना सुरक्षाकर्मी छन् ।लप्रदेश मुख्यमन्त्रीको सुरक्षामा भने नेपाली सेना खटाइएको छ । मुख्यमन्त्रीको निवास सुरक्षामा भने सशस्त्र प्रहरी नै छ। तर, मुख्यमन्त्रीको निवास सुरक्षा हटाउनेबारे भने कार्यविधि बोलेको छैन ।
नयाँ कार्यविधिले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिइरहेका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, व्यापारीबाट नेपाल र सशस्त्र प्रहरीले आफ्ना सुरक्षाकर्मी फिर्ता बोलाउन थालेको छ । नियमविपरीत खटाइएका त्यस्ता सुरक्षाकर्मी फिर्ता गर्न गृहले निर्देशन दिइसकेको छ । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ ले पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा संख्या तोकेको छ । यो प्रावधानसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका झन्डै ६ सय जना सुरक्षाकर्मी फिर्ता हुनेछन् । सशस्त्र प्रहरीले भिआइपीको सुरक्षामा खटाएका करिब चार सय सुरक्षाकर्मी फिर्ता बोलाउन थालेको छ । नेपाल प्रहरीमा दुई सय बढी सुरक्षाकर्मी फिर्ताको प्रक्रियामा रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।
नियमभन्दा बढी सुरक्षाकर्मी लिने सूचीको पहिलो नम्बरमा पर्छन्, पूर्वराजा ज्ञानेन्द्र शाह । उनले तोकिएभन्दा १ सय ११ जना बढी सुरक्षाकर्मी राखेका छन् । पूर्वराजापछि धेरै सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्नेमा पुष्पकमल दाहाल र शेरबहादुर देउवा पर्छन् । नेकपा अध्यक्ष दाहालसँग अगुवापछुवासहित ४८ जना सुरक्षाकर्मी छन् । गृहले उनलाई सुरक्षा चुनौती भएकैले यो व्यवस्था गरेको बताएको छ । गृहको सूचीमा देउवालाई भने कुनै सुरक्षा चुनौती छैन । उनीसँग पछुवा गाडीसहित ४० जनै सुरक्षाकर्मी छन् । यी ४० मध्ये आठ जना देउवाकी श्रीमती आरजु र छोराको सुरक्षामा खटेका छन् ।

