‘नेता तर्साउन रामकुमारी पक्राउ’

काठमाडौँ – सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ। झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन्। झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोपसमेत लागेको छ। ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन। यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरूलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो रबैया धेरै दिन टिक्दैन’, नेकपाका एक उच्च नेताले भने। उनको यो भनाइलाई पुष्टि गर्दै कानुनविद् भीमार्जुन आचार्यले राज्य आतंक भएको बताए। ‘यो राज्य आतंक हो। झाँक्रीलाई पक्राउ गर्न गाली बेइज्जती ऐन आकर्षित हुनुपर्नेमा राज्यविरुद्धको अपराधसम्बन्धी कानुनी दफा लगाइएको छ, जुन लगाउन मिल्दैन। यो तर्साउन प्रयोग गरिएको दफा हो। कसैको मान मर्दन भए गाली बेइज्जती ऐन अलग्गै छ’, कानुनविद् आचार्यले भने।

नेत्री झाँक्रीले गोरखामा एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न केही दिनअघिदेखि नै प्रहरीलाई दबाब परेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छामा झाँक्रीलाई पक्राउ गर्न दबाब दिइएको थियो। ‘प्रधानमन्त्रीकै निर्देशन छ भन्ने आएपछि हामीलाई पक्राउ गर्न दबाब परेको थियो’, प्रहरी प्रधान कार्यालय उच्च स्रोतले भन्यो। झाँक्रीको पक्राउपछि दिउँसोतिर बालुवाटारबाटै छाड्न निर्देशन दिइएको थियो। ‘उहाँलाई हामीले ल्याएर सोधपुछ गर्‍यौं तर बालुवाटारबाटै छाड्न निर्देशन आयो, साँझ घर लगेर छाड्यौं’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

रिहा भएपछि नेत्री झाँक्रीले व्यक्तिको आचरणविरुद्ध बोलिरहने बताएकी छन्। उनले आफूलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको बताइन्। उनले प्रतिगमनकारीहरूको झुक्ने प्रक्रया सुरु भएको दाबीसमेत गरिन्। राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी झाँक्रीले संवैधानिक राष्ट्रपति संस्थाप्रति मेरो सधैं सम्मान छ र भोलि पनि रहेनछ भन्ने लिखित बयान दिएकी थिइन्। ‘सम्मानित राष्ट्रपति संस्थाप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहनेछ’ भन्ने लिखित बयान दिएपछि उहाँलाई घरमै लगेर छाडियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७०८:५८

प्रतिनिधिसभा विघटन मुद्दामा पहिलो चरणको बहस सकियो, सर्वोच्चले छिट्टै फैसला सुनाउने !