पेरिस सेन्ट-जर्मेनका स्टार फारवार्ड नेइमार चोटका कारण चार हप्ताका लागि बाहिरिएका छन्। यसका साथै उनले फेब्रुअरी १७ मा हुने बार्सिलोना विरुद्धको च्याम्पियन्स लिग राउण्ड अफ १६ को पहिलो लेग पनि गुमाउने भएका छन्।

बुधबार काएनसँग पीएसजीले १-० ले जित निकालेको खेलमा ब्राजिलियन स्टार भने एक घण्टाको खेल सकिँदा चोटका कारण मैदान बाहिर भएका थिए। बिहीबार परीक्षणपछि उनी चार हप्ताको लागि बाहिरिने पक्का भएको हो।

“बुधबार साँझ नेइमारको बाँया एडक्टक्टरमा चोट लागेको थियो,” पीएजीको स्टेटमेन्टमा लेखिएको छ, “क्लिनिकल जाँच र परिक्षणको विश्लेषणका आधारमा उनी करिब चार हप्तासम्म उपलब्ध हुने छैनन्।”

बार्सिलोनासँगको पहिलो लेग गुमाउने पक्का भएका नेइमार दोस्रो लेगका लागि पनि उपलब्ध हुने निश्चित छैन। बार्सिलोना र पीएसजी बीचको दोस्रो लेग मार्च १० मा रहेको छ जुन अहिलेको ४ हप्तापछि हो। कम्तीमा पनि ४ हप्ताका लागि बाहिर भएका उनी त्यहि समयमा निको हुनेमा भने प्रश्न चिन्ह उठ्न सक्छ।

२०१७ मा बार्सिलोनाबाट पीएसजी गएका नेइमार पहिलो पटक क्याम्प नाउमा फर्कने थिए। नेइमारले निस, एएस मोनाको, डिजोन र बोर्डो विरुद्धको लिग खेल पनि गुमाउने छन्।

