काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारत जाने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि खनाल भारत जान लागेका हुन्।
खनाल आज नै भारतको नयाँ दिल्ली प्रस्थान गर्ने नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले जनाएका छन्। उनी आज ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्नेछन्। खनाल केहि दिन भारतमै रहने रिजालले बताए।
पारिवारिक श्रोतका अनुसार खनाल केहि समय देखि शरीर काँप्ने रोगबाट ग्रसित छन्। पहिला उपचारका लागि चीन जाने कुरा भएपनि चीनमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने बाध्यताका कारण खनाल भारत जान लागेको बताइएको छ। भारतमा भने पीसीआर परिक्षण निगेटिभ भएका व्यक्तिहरुले क्वारेन्टिन बस्नु पर्दैन।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल लामो समय देखि अस्वस्थ छन्। यस अगाडी उनले अमेरिका र चीनमा उपचार गराएका थिए। खनाल उपचारका लागि भारत जान लागेको भएपनि महत्वका साथ हेरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि नेकपा भित्र देखिएको विभाजन र त्यसले बढाएको राजनीतिक संघर्षका बीच खनाल भारत पुग्नुलाई महत्वका साथ हेरिनुपर्ने जानकारहरु बताउँछन्। त्यहाँ औपचारिक रुपमा कुनै नेता भेट्ने योजना बाहिर नआएको भएपनि अनौपचारिक रुपमा खनालले भारतीय नेताहरु भेट्न सक्छन्।