काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भारतको भूमिका रहेको आरोप लगाएका छन्। अर्घाखाँचीले सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै केसीलेओलीले भारतको इशारामा संसद् विघटन गरेको आरोप लगाएका हुन्।
प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले अमेरिका र भारतको इशारामा ओलीले संसद विघटन गरेको आरोप लगाए। संसद विघटन हुनुका पछाडी अमेरिकी सहयोग परियोजना एमसीसी पनि एक कारण रहेको उनले बताए।
भारतले हडपेको लिम्पियाधुरा र कालापानीलगायतको भूभाग समेटेर नक्सा पारित गरेपनि भारतकै इशारामा ओलीले संसद विघटन गरेको उनको आरोप छ।
उनले गणतन्त्र, धर्मनीरपेक्षताविरुद्ध ओलीले कदम चालेको आरोप लगाए । ओलीको कदम विरुद्ध नेकपा, काँग्रेस, मधेशवादीलगायत दलहरु एक भएर आन्दोलन गर्नुपर्ने उनको भनाई छ।
“आन्दोलन गरेरै संसद् पुन:स्थापना गर्नुको विकल्प छैन। कांग्रेससहित सबै दल मिलेर सड्क संघर्षबाटै प्रतिगमनलाई परास्त नगर्ने हो भने ओलीले देशमा संकटकाल लगाएर देशलाई अझै अँध्यारोमा लैजान्छन् ।”,उनले भने। अदालतले के गर्ला भनेर पर्खेर बस्ने भन्दा पनि आन्दोलन गरेरै ओलीको प्रतिगामी कदमलाई असफल पारेर संसद् पुन:स्थापना गर्नु पर्ने उनले बताए।
उनले भने,”अदालतले के गर्ला भनेर पर्खेर बस्नु हुँदैन, सबैभन्दा सर्वोच्च जनता हो, आन्दोलन गरेरै ओलीको प्रतिगामी कदमलाई असफल पारेर संसद् पुन:स्थापना गर्नुको विकल्प छैन।”
केसीले ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपतिले पनि गल्ती गरेको बताए। प्रधानमन्त्री ओलीको कदममा सहीछाप गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर गल्ती गरेको उनको भनाई छ।

