नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
दाहाल–नेपाल समूहलाई इंगित गर्दै उनले देश बिगार्न खोज्ने तत्वहरू सरकारले गरेको विकास र समृद्धिबाट आत्तिएर सडकमा रोइकराइ गरेको दाबी गरे। ‘ताजा जनादेशमा जानै हुँदैन, चुनाव गर्नै हुँदैन भन्ने कस्तो व्यवस्था खोजेको ? जनताका बीचमा जानु ताजा जनादेश लिनु प्रतिगमन हुन्छ ?’ उनले भने।
प्रतिकूलता झेलेरै भए पनि देशविकासमा अगाडि बढिरहँदा सरकारै ढाल्न षड्यन्त्र गरेपछि संसद् विघटन गर्नुपरेको ओलीले पटकपटक दोहोर्याए। ‘देश बनाउने कुरा छैन तर उहाँहरूलाई प्रधानमन्त्री बन्न मन लाग्यो। अध्यक्षबाट हट्नुपर्यो भने, किन हट्नुपर्यो भनेको त मलाई आफैं अध्यक्ष हुन मन लाग्यो रे,’ ओलीले दाहाल–नेपाललाई व्यंग्य गर्दै भने।
देशको स्वाभिमान उठाउन नभई व्यक्तिगत फाइदा र पदका लागि आफूलाई असफल बनाउने षड्यन्त्र हुन थालेपछि ताजा जनादेशमा जानुपरेको उनको भनाइ थियो। आफूले देशको गुमेको भूभाग समेटिएको नक्सा पास गरेपछि आत्तिएर सरकार गिराउने खेल हुन थालेको आरोप उनले लगाए। ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत छैन भन्ने विषय निरर्थक भएको जिकिर गरे। बहुमतको सरकारको प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गरेको र त्यो संविधानसम्मत रहेको उनको दाबी थियो। ‘संविधानको धारा ७६ (१), धारा ७६ को उपधारा ७ र धारा ८५ ले भनेअनुसार विघटन गरिएको हो। बहुमतको प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गरेर विघटन गरिएको हो,’ उनले भने। ६४ प्रतिशत बहुमतको प्रधानमन्त्रीले संसद् बिघटन गरेपछि अर्को कुनै विकल्प नभएको उनले बताए। ‘अनुचित समीकरण गर्ने, कामै गर्न नदिने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, देशलाई अलोकतान्त्रिक प्रक्रियातर्फ धकेल्न आफ्नैभित्रबाट षड्यन्त्र भएपछि मैले चलाउनै सकिनँ र संसद् विघटन गर्नुपर्यो,’ ओलीले भने।
यो मुद्दामा अदालतले न्याय गर्ने र देशलाई अस्थिरतातर्फ फर्कन नदिने विश्वास व्यक्त गरे। संसद् पुनःस्थापना भए कुनै पार्टीको बहुमत नरहने भएकाले झनै अस्थिरता बढ्ने र त्यसबाट लोकतन्त्रको हुर्मत लिने काम हुने दाबी उनले गरे। संसद् पुनःस्थापना भए संसद् किनबेचको खेल हुने उनले बताए।
ओलीले तोकिएकै समयमा चुनाव हुने र त्यसमा आफ्नो पार्टीले फेरि बहुमत ल्याएर देशको नेतृत्व गर्ने दाबी गरे। उनले कसैलाई लोकप्रिय छु भन्ने लागे चुनावमा आउन चुनौती दिए। दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरू मान्छे हेर भन्नुहुन्छ। म भन्छु– मान्छे मात्रै किन हेर्ने, बाकसबाट मतपत्र झिकेरै गनौंला नि, नआत्तिनुस् न, ५० लाख समानुपातिक मत ल्याएर देखाउँछौं। प्रत्यक्षमा बहुमत सिट ल्याउँछौं। त्यो घटाएर देखाए भयो नि !’