नेपालमा पार्टी स्थापना गरेर सरकार बनाउने भाजपाको योजना !

काठमाडौँ – भारतीय जनता पार्टी(भाजपा) नेपाल र श्रीलंकामा आफ्नो पार्टी विस्तार गर्ने योजनामा रहेको खुलेको छ। उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भाजपा उक्त योजनामा रहेको खलासा गरेका हुन्।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा विस्तार गर्ने योजना रहेको बताएको विप्लव देवको भनाई छ। गत शनिबार त्रिपुरा पुगेका बेला शाहले त्यस्तो योजना सुनाएको भारतीय सञ्चार माध्यम इस्टमोजो डटकमले जनाएको छ।

देवका अनुसार गत शनिबार त्रिपुरा गएका बेला शाहले पार्टी बैठकमा भारतका सबै राज्यहरूमा भाजपाको सरकार बनाइसकेपछि नेपाल र श्रीलंकामा भाजपा विस्तार गर्ने बताएका थिए।

उत्तरपूर्वी क्षेत्रका पार्टी सचिव अजय जमवालले भारतका धेरै राज्यमा बिजेपीले सरकार बनाएको बताएपछि भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका शाहले नेपाल र श्रीलंका बाँकि रहेको बताएको देवको भनाईलाई उद्धृत गर्दै इस्टमोजो डटकमले समाचारमा उल्लेख गरेको छ।

“हामी स्टेट गेस्ट हाउसमा कुरा गरिरहेका थियौं। उत्तरपूर्वी क्षेत्रका पार्टी सचिव अजय जमवालले भारतका धेरै राज्यमा बिजेपीले सरकार बनाएको बताउनुभयो। शाहले अब नेपाल र श्रीलंका बाँकी रहेको जवाफ दिनुभयो।”,समाचारमा भनिएको छ।

त्यस बैठकमा शाहले बिजेपीलाई नेपाल र श्रीलंकमा पनि विस्तार गर्नुपर्ने र सरकार गठन गर्न जित हासिल गर्नुपर्ने बताएका थिए।

प्रकाशित : सोमबार, फागुन ०३, २०७७०९:३३

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु