लगातार ओरालो लाग्दै सुनको भाउ, जेठ महिना यताकै सस्तो !

हिजो तोलामा १ हजार १ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। मंगलबारको तुलनामा ११ सयले घटेको सुनको भाउ बिहिबार भने तोलामा ६ सयले घटेर गत जेठ २८ गते यताकै सस्तो भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलामा ६ सय रुपैंयाले घटेको छापावाला सुनको मूल्य ८९ हजार २ सय कायम भएको छ। बुधबार छापवाला सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको छ। बुधबार तोलाको ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज ८८ हजार ७ सय ५० मा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ८ सय, सोमबार ९० हजार ७ सय र मंगलबार ९० हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९० हजार ३००, सोमबार ९० हजार २ सय र मंगलबार ९० हजार ४ सय रुपैंयामा कारोबार भएको थियो।

सुन जेठ २८ यताकै सस्तो

बिहिबारको छापावाला सुनको मूल्य करिब साढे ८ महिना यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य जेठ २८ गते यताकै कम हो। यस हिसाबले आज कायम भएको छापावाला सुनको मूल्य २ सय ५० दिन यताकै कम रहेको छ। त्यस्तै आज कायम भएको तेजाबी सुनको मूल्य पनि जेठ २८ गते यताकै सस्तो रहेको छ।

यसैबीच, साउन २३ गते भने सुनको भाउ इतिहाँसकै महँगो भएको थियो। त्यसदिन, सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ सम्ममा कारोबार भएको थियो।

त्यस्तै, बिहिबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेर १ हजार ३ सय ३५ कायम भएको छ।

प्रकाशित : बिहिबार, फागुन ०६, २०७७११:०७

आज पनि सुनको मूल्यमा भरी गिरावट, पछिल्लो साढे आठ महिनाकै सस्तो !