नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओली पार्टीबाट विभाजित भएर गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताएका छन्। पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेता तथा जनताबीच विभिन्न भ्रम समेत फैलाईरहेको आरोप लगाए। ओलीले कुनै पनि हालतमा साम, दाम दण्ड भेद सबै प्रयोग गरेर भ्रम फैलाउन खोजिरहेको उनको भनाइ छ। “ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन्। पूर्व एमालेहरु मिल्ने समय आएको छ, यति मानिस यता आए भने जस्ता भ्रमहरु फैलाईरहेका छन्। ओली जीको यस्तो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु, यो त विचारको लडाई हो,” नेपालले भने।
त्यस्तै, ओली पार्टीबाट छुट्टिएर गएकोमा सबै नेता कार्यकर्ता निकै खुसी रहेको समेत बताए। उनले बैठकलाई सम्बोधन गर्दै भने, “घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी नै छन्।”
उनले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य रहेको जानकारी गराउँदै यति हुँदा पनि निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता नदिए आफूहरु कतै पनि चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन्। “हामीसँग दुई तिहाइ छ। यदि यति हुँदा पनि हामीलाई आधिकारिकता दिइएन भने चुप लागेर बस्ने छैनौं। जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौँ भन्दै अध्यक्ष नेपालले थप आन्दोलान गर्न सक्ने संकेत गरे।

