काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि तयार रहेको बताएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी वार्ताका लागि तयार रहेको जनाएका हुन्।
महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको दावी गरेका छन्।
“हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।”,विप्लव द्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवको भनाई छ। विज्ञप्ति मार्फत उनले भनेका छन्,”यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।”

गृहमन्त्रीको पनि ग्रिन सिग्नल
शनिबार नै गृहमन्त्री राम बहादुर थापाले विप्लवसँग वार्ताको लागि आफू तयार रहेको बताएका छन्। विराटनगरमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्नेक्रममा थापाले विप्लवसँग वार्ताका लागि सरकार तयार रहेको सङ्केत गरेका हुन्।
त्यस्तै उनले विप्लव पनि आगामी चुनावमा सहभागी हुन सक्ने बताएका छन् । गृहमन्त्रीले वार्ताको लागि सरकार तयार रहेको सङ्केत गर्नु र विप्लवको विज्ञप्ति एकै पटक आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

