काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुको विकल्प नरहेको बताएका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्नेक्रममा केसीले देश जोगाउन संघीयता खारेज गर्नुको विकल्प नरहेको बताएका हुन्।
शनिबारदेखि बुटवलमा सुरू भएको जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने बताए।
नेपालको लागि संघीयता घाँडो भएको केसीको दावी छ। प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न गराएमात्रै देशले निकास पाउन नसक्ने उनको दावी छ ।
भारतले नेपालमा अस्थिरता चाहेकोले संघीयता भित्राएको उनको भनाई छ। महेन्द्रनगरदेखि काँकडभित्तासम्मको भू–भागलाई पहाडबाट तराई अलग गराउने गोप्य भूमिका भारतकै भएको उनले बताए। सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चल्ने भएका कारण संघीयताले देशका लागि थप जोखिम बढाउने उनले तर्क गरे।
त्यस्तै केसीले केसीले प्रधानमन्त्रीलाई २०७२ को संविधानले संसद विघटनको अधिकार नदिएको पनि बताएका छन्। २०४७ को संविधानले प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि २०७२ को संविधानले विघटनको अधिकार नदिएको उनको भनाई छ। केसीले ओलीलाई अर्को कुन शक्तिले संसद विघटन गर्ने अधिकार दियो भन्दै प्रश्न पनि गरे।
नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको प्रति उनको चिन्ता छ। नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको र अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको उनले बताए।

