काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लागेको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । विप्लव समुहले शनिवार वार्ताका लागि तयार रहेको विज्ञप्ती निकालेपछि वार्ताको वातावरण बनाउन प्रतिबन्ध हटाउने तयारी सरकारले गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अब छिट्टै मन्त्रिपरिषद बैठक बसेर विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी रहेको छ । तर, त्यसका लागि विप्लव समूहले विश्वासको वातावरण बनाउनुपर्ने बताएको छ । ‘यसअघि विभिन्न चरणका वार्ताहरू भइसकेका छन्,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैको नतिजास्वरूप विप्लव समूहले विज्ञप्ति निकालेको हो । वार्तामा बस्न तयार छौं भनेर उहाँहरूले विज्ञप्ति निकाल्नुभएको छ । अब सरकारले प्रतिबन्ध हटाएर वार्ताका लागि वातावरण बनाउँछ ।’
विप्लवको हस्ताक्षरमा शनिवार अपराह्न वार्तामा बस्ने सकरात्मक सन्देशसहित एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’ दुवै पक्षबीच यसअघि भएको वार्तामा सबैभन्दा पहिला विप्लव समूहले विज्ञप्ति निकालेर ‘सरकारसँग वार्ता गर्दैछौं’ भनेर सन्देश दिनुपर्ने माग सरकारी पक्षले राखेको थियो । सरकारको मागअनुसार नै विप्लव पक्षले आफूहरू वार्तामा आउन तयार रहेको भन्दै विज्ञप्ति निकालेका हुन् । पछिल्लो राजनीतिक अवस्थाका कारण विप्लव समुह खुल्ला राजनीतिमा आउने तयारी निक्कै पहिलादेखी गरिरहेको थियो ।
विप्लव समुहले अब सरकारले प्रतिवन्ध हटाएपछि वार्ता हुने जानकारी दिएका छन् । ‘हामीले खुला राजनीतिक गतिविधि गर्न पाउने शर्तमा सरकारसँग वार्ता गर्छौं भनेका हौं । वार्ताका लागि अन्य पूर्व शर्तहरू पनि छन् । विभिन्न मुद्दा लगाएर जेल र हिरासतमा राखिएका साथीहरूलाई रिहा गर्नुपर्ने हाम्रो पहिलो शर्त हो’, विप्लव समुहका एक नेताले भने । २ वर्षअघि सरकारले विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । २०७५ सालको फागुन २८ गते लगाएको प्रतिवन्ध दुई वर्ष नपुग्दै हट्ने भएको छ । वार्ताका लागि सरकारका तर्फबाट खानेपानी मन्त्री मणि थापाले हिरासतमा रहेका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए । गत पुस २९ गिरफ्तारीमा परेका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि हिरासतमै छन् ।
हिरासतमा रहेका दुवै नेतामार्फत विप्लवसँग अनौपचारिक वार्ताको शुरूआत भएको विभिन्न स्रोतहरूको दाबी छ । वार्ताका लागि सबैभन्दा पहिला प्रतिबन्ध फुकुवा गर्नुपर्ने विप्लवको माग थियो । त्यसका लागि विज्ञप्तिमार्फत नै भएपनि वातावरण तयार गरिदिन सरकारले विप्लवलाई गरेको आग्रहबमोजिम शनिवार विज्ञप्ति जारी भएको हो । विप्लव, वैद्य र ऋषि कट्टेल नेतृत्वको पार्टीसँग रणनैतिक मोर्चा बनाएका वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले भने, ‘प्रतिबन्ध हट्छ भने त्यो राम्रो कुरा हो । त्यसो भयो भने वार्ताको ढोका खुल्छ । हामी रणनीतिक मोर्चा बनाएर साझेदारी गरिरहेका छौं तर विप्लव नेतृत्वको पार्टीलाई मात्र प्रतिबन्ध लगाइएको हो ।’ गत माघ २९ गते ४ वटै दलका शीर्ष नेताहरूले रणनीतिक मोर्चा बनाएको घोषणा गरेका थिए । यद्यपि मोर्चाले संयुक्त रूपमा सरकारविरुद्ध संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ ।