सर्वोच्च अदालतको फैसलापछि नेकपाका दुई समुहको भविष्य : कसलाई बढी धक्का ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्ष पर्खिरहेका छन् । सम्भवत यसै साता आउने फैसलाले मुलुकको राजनीतिक बाटो मात्र नभई दुवै समूहको भविष्य पनि निर्धारण गर्नेछ । अन्य दललाई खासै ठुलो प्रभाव नपरेपनि यो फैसलाले नेकपाको दुई मध्ये एक पक्षलाई धक्का लाग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको पक्षमा देखिएका छन् भने पुष्पकमल दाहाल–माधवकुमार नेपाल प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ओली समूह भने वैशाखमा निर्वाचन गरिछाड्ने प्रचारमा छ । त्यसका लागि शनिवार विराटनगरमा प्रदेश–१ को आमसभा समेत गरेको छ । त्यहा प्रधानमन्त्री ओलीले पुनःस्थापना भए देश अस्थिरतातर्फ धकेलिने भएकाले निर्वाचन नै उत्तम विकल्प भएको बताए । ‘चुनाव हुने निश्चित छ, म सबैलाई आत्मविश्वासी बन्न आग्रह गर्छु,’ सभास्थलमा समर्थकमाझ उनले भने, ‘यदि कुनै किसिमको जालझेल, सेटिङ, तिक्डम गरेर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि आन्दोलन हुनेछ ।’

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले मुलुक निर्वाचनतर्फ जान्छ वा प्रतिनिधि सभाको पुनःस्थापना हुन्छ, फैसला आएपछि नै स्पष्ट हुन्छ । त्यही फैसलाले नेकपाका दुई समूहको मात्र होइन मुलुकको राजनीतिक भविष्यलाई पनि दिशा दिनेछ । दाहाल–नेपाल समुह भने पुनःस्थापनाको माग गर्दै आन्दोलनमा होमिरहेको छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राजनीतिक दलहरूबीच सरकार बनाउने र गिराउने प्रतिस्पर्धा शुरू भएको थियो । भदौ २०५२ देखि २०५६ सम्म चार वटा सरकार बनेका थिए । संसद् पुनःस्थापना भए फेरि पनि त्यस्तै खेल हुने ओली पक्षका नेता एंव परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चिन्ता छ ।

प्रतिनिधिसभा विघटन भएपनि पुनःस्थापना भएपनि आन्दोलन गर्ने दुवै पक्षले चेतावनी दिइसकेका छन् । जसले गर्दा सर्वोच्च अदालतलाई समेत निर्णय गर्न गरिहालेमा पनि त्यो विवादित बन्ने निश्चित जस्तै छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सदर गर्दा दाहाल–नेपाल समूहसँग दुईवटा विकल्प रहनेछन् । सर्वोच्चको आदेशलाई मान्दै निर्वाचनमा जाने वा आन्दोलन गरिरहने ।

प्रतिनिधि सभा विघटनको औपचारिक रूपमा विरोध गरे पनि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दल निर्वाचनमा जान आतुर देखिन्छन् । नेकपाको ओली समूह त निर्वाचनको पक्षमा भइहाल्यो । मुलुकमा निर्वाचनको वातावरण बन्दै गएमा पुष्पकमल दाहालले भनेजस्तै उक्त समूहलाई ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्न कठिन छ ।

दाहाल–नेपाल समूहका स्थायी समितिका नेताहरुका अनुसार पुनःस्थापनाको पक्षमा फैसला भए आफूहरूको ध्यान सरकार निर्माण र सञ्चालनमा जाने र विघटन सदर भए चुनाव हुनै नसक्ने हुँदा आन्दोलन चर्काउने परिस्थिति निर्माण हुने बताउँछन् । तर, निर्वाचनको वातावरण बन्दै गए के गर्ने भन्नेमा उक्त समूहमा पनि अन्योल छ ।

प्रकाशित : आइतबार, फागुन ०९, २०७७०७:२८

पाँच वर्षको संघर्ष पछि मिल्यो नागरिकता !