मेस्सीको “अन्तिम नाँच” लगभग सकियो !

एजेन्सी – पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकेको स्पेनिस क्लब बार्सिलोना यस सिजन उपाधि विहिन हुने जस्तै देखिएको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग लज्जास्पद हारे बेहोरेसँगै च्याम्पियन्स लगमा बार्सिलोनाको यात्रा कठिन भइसकेको छ। यता ला-लिगामा पनि बार्सिलोनाले भने जस्तो प्रदर्शन गर्न सकेको छैन।

आइतबार राति भएको खेलमा बार्सिलोना जितबाट बञ्चित रह्यो। काडिजविरुद्ध घरलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरीमा रोकिँदै अंक बाँड्यो।

३२ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गर्दै बार्सिलोनालाई रोके।

आइतबारको बराबरीसँगै बार्सिलोना लालिगाको तेस्रो स्थानमा यथावत रह्यो। लिगको शिर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड भन्दा ८ अंकले पछाडी छ भने दोस्रो स्थानको रियल म्याड्रिड भन्दा ५ अंकले पछाडी छ। एट्लेटिकोको ५५ र रियलको ५२ अंक छ ।

चर्चामा मेस्सीको भविष्य

यसरी लालिगा जित्ने अभियान अन्य भइरहेका बेला मेस्सीको भविष्य पनि चर्चामा छ। गत वर्ष नै बार्सिलोना छाड्न लागेका मेस्सी यस सिजन सकिए लगतै अन्यत्र जाने धेरैले अनुमान गरेका छन्।

बार्सिलोनाको लगातारको कम्जोर प्रदर्शन सँगै मेस्सीको “अन्तिम नाँच” सकिएको भनेर टिप्पणी शुरु हुन थालेको छ। स्पेनको एक पत्रिकाले मेस्सीको अन्तिम नाँच लगभग सकिएको भनेर टिप्पणी गरेको हो।

“जब लियोनेल मेसीले बार्सिलोना छोड्ने निर्णय गरे, बार्सिलोनामा प्रशंसकहरूले माइकल जोर्डनले शिकागो बुल्समा देखाएको ‘लास्ट डान्स’ शैलीको खेल देख्न पाइने अपेक्षा गरेका थिए। तर, केहि हप्ताको अन्तरालमै बार्सिलोना विभिन्न ट्रफी विमुख हुने देखिएको छ। यससँगै मेस्सीको ‘लास्ट डान्स’ लगभग अन्त्य भएको छ।”,स्पेनबाट प्रकाशित हुने एक पत्रिकाले मेस्सी र बार्सिलोना बारे टिप्पणी गर्दै भनेको छ।

प्रकाशित : सोमबार, फागुन १०, २०७७१३:०६

अघिल्लो सिजनको जस्तै हालतमा बार्सिलोना, यो साता अर्को परिक्षा !