एजेन्सी – रियल म्याड्रिड पछिल्लो सरुवा बजारमा केहि हदसम्म मौन नै रह्यो । तर टोली समयमा भने ठूलो नामका खेलाडीलाई भित्राउन चाहन्छ । त्यसमा पनि केलियन एमबाप्पे र इर्लिङ हालान्ड मध्ये एकलाई भित्राउन रियलले प्रयास गर्ने विश्वास लिइएको छ ।
जोसेप पेडरेरोले रियलले अर्को सिजन एमबाप्पे वा हालान्डलाई भित्राउने सम्भावना रहेको बताए । उनले भने, ‘रियलको मुख्य लक्ष्य एमबाप्पेलाई भित्राउने हो । यदि लिओनल मेस्सीले बार्सिलोना छाडेर गएको खण्डमा फ्रान्सेली युवा स्टारलाई भित्राउन सकिन्छ । त्यो अवस्थामा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनलाई विक्री गर्न तयार हुने आशा गरिएको छ।’
तीन ठूला स्टार पारिश्रमिक दिन कठीन हुने भएकाले नै पिएसजीले एमबाप्पेलाई बेच्न सक्ने अनुमान गरिएको छ । मेस्सी, एमबाप्पले र नेयमारलाई एउटै टोलीमा राख्न आर्थिक कारणले कठीन हुने भएकोले त्यो अवस्थामा एमबाप्पेलाई लिन सकिने रियलको विश्वास छ । पेडरेरोका अनुसार रियल एमबाप्पेका लागि १ सय ५० मिलियन युरो भन्दा बढी तिर्ने पक्षमा छैन ।
अहिले नै एमबाप्पेका लागि हतार नगरेको रियल उनलाई अर्को वर्ष पनि कुर्न तयार रहेको विश्वास गरिन्छ । ‘एमबाप्पले पिएसजी छाड्न चाहन्छन् । तर, रियल मेस्सीको भविष्यको बारेमा प्रष्ट हुन चाहन्छ,’ उनले भने, ‘यदि आउने सरुवा बजारमा एमबाप्पे उपलब्ध हुन सकेनन् भने रियलले हालान्डलाई भित्राउन प्रयास गर्नेछ ।’
‘सिजनको अन्त्यमा रियलले प्रभावशाली खेलाडी भित्राउन चाहिरहेको विश्वास गरिन्छ । एमबाप्पे र हालान्डमध्ये एक रियलमा आबद्ध हुने सम्भावना छ’, पेडरेरोले थपे ।