बार्सिलोना तेस्रो स्थानमा, मेस्सी पहिलो स्थानमा !

एजेन्सी – कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथै दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले आक्रमक रणनीति लिदै मिरालेम प्यानिचको स्थानमा अस्मान डेम्बेलेलाई मैदान पठाए । नतिजा बार्सिलोनाले तेस्रो मिनेटमा नै अग्रता बनायो ।

मार्टिन ब्रेथवेटको ब्याकहिलमा कप्तान मेस्सीले गोल गर्दै खाता खोले । ६८ अौं मिनेटमा फ्रेन्की डे जोङले बनाएको दर्शनीय मुभलाई मेस्सीेेले फिनिस गर्दै अग्रता दोब्बर पारे ‌। त्यसको ५ मिनेट नबित्दै ब्रेथवेटकै हेडरबाट आएको बललाई जोर्डी अल्बाले गोलमा परिणत गरे ।

मेस्सीले यस खेलका दुई गोलसँगै लिगमा १८ गोल पुर्याएका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । दोस्रो स्थानमा एट्लेटिको म्याड्रिडका लुइस सुआरेजको १६ गोल छ ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। टोलीको २४ खेलमा ५० अंक छ भने सेभिल्ला २३ खेलमा ४८ अंकसहित चौथोमा छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड २३ खेलमा ५५ तथा रियल २४ खेलमा ५२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : बिहिबार, फागुन १३, २०७७०९:१२

को मेस्सी ? को रोनाल्डो ? रामोस हुन् सर्वोत्कृष्ट खेलाडी: बेली