देउवालाई प्रचण्ड-नेपालको अफर – ‘प्रधानमन्त्री बन्नुस्’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको छ। उक्त पक्षक अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देउवासँगै छलफल गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रचण्ड र नेपालके देउवा निवास बूढानीलकण्ठ पुगेर पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन्।

तीन नेता बीच करिब ४५ मिनेट छलफल भएको नेकपा निकट श्रोतले जनाएको छ। श्रोतका अनुसार छलफलका क्रममा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए।

प्रचण्ड-नेपालले गरेको प्रस्तावलाई देउवाले सकारात्मक रुपमा लिएको बताइएको छ। देउवाले दुवै नेतालाई उक्त प्रस्ताव बारे पार्टीमा छलफल गर्ने जवाफ दिएका थिए।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न आदेश दिएसँगै राजिनामा दिन ओलीलाई दबाव दिएको छ। जसकारण विभाजित नेकपाका दुवै खेमा आ-आफ्नो तयारीमा जुटेका छन्। दुवै खेमाले नेपाली कांग्रेसलाई साथ लिएर अगाडी बढ्न चाहेका छन्।

माधव नेपाल र प्रचण्ड दुवैले आफूहरु प्रधानमन्त्री बन्ने यस अगाडी नै स्पष्ट पारिसकेका छन्। प्रचण्ड-नेपाल पक्षले देउवालाई सरकारको नेतृत्व दिएर सत्ता साझेदारी गर्न चाहेको छ।

त्यस्तै ओली पक्षले पनि नेकपा कानूनी रुपमा विभाजित भएपछि देउवालाई नै साथ लिने योजना बनाएको छ। उक्त पक्षले पनि नेपाली कांग्रेससँग मिलेर अगाडी बढ्ने योजना बनाएको छ। यसरी दुवै पक्षले नेपाली कांग्रेससँग सहकार्य गर्ने चाहना देखाएसँगै नेपाली कांग्रेस तानातानमा परेको छ।

प्रकाशित : बुधबार, फागुन १२, २०७७१५:२९

“अब मुलुक संविधानबाट चल्छ”