“सर्वोच्च अदालतको सामान्य फैसलामा मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरे”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य भनेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य कुरा भनेका हुन्।

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य रहेको र त्यसले आफूलाई खासै प्रभाव नपार्ने बताए। सर्वोच्च अदालतको फैसला सामान्य भएपनि केहि नेताहरुले भने लड्डु ख्वाइ ख्वाइ गरेको भन्दै ओलीले व्यंग्य गरे।

ओलीले भने,”यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ?”

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले अदालतको साँझ एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका थिए। सोहि प्रति लक्षित गर्दै ओलीले बुधबार यस्तो बताएका हुन्। आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने हुँदा सर्वोच्च अदालतको निर्णयले आफूलाई खासै प्रभाव नपार्ने उनको भनाई छ।

आफू तत्काल राजिनामा दिहाल्ने पक्षमा नरहेको पनि ओलीले सङ्केत गरेका छन्। आफूहरु लगातार कर्तव्यमा जुट्ने र निरन्तर अगाडि बढ्ने ओलीले बताए।

“हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं। अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।”,उनले भने।

प्रकाशित : बुधबार, फागुन १२, २०७७१८:११

“नेपालको विकास देखेर विश्व चकित परेको छ”