पहिले जसरी संसद् चलेको थियो, अब पनि त्यसरी नै चल्छ, दलहरुबीच समझदारी हुन्छ: अग्निप्रसाद सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । आज पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताए ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।” राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो । उनले भने, “मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए ।

अहिलेकै सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउँछ: पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “अब सरकार परिवर्तन गर्न लाग्नेहरु निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।” सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उनले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे । मन्त्री गुरुङले भने, “मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उनको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल भए ।”

फरक प्रसङ्गमा उनले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पुर्याउने योजनालाई तीव्रता दिएको जानकारी दिए । उनले त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्याउने योजना सुनाए । मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो बनाउन राजश्व कम गर्ने योजना पनि सुनाए। उनले डिजिटल नेपाल निर्माणका लागि सरकारले नीति कार्यक्रम अघि सारेको बताउँदै त्यसका लागि मन्त्रालयले डिजिटल फ्रेमवर्क कमिटी गठन गरेको जानकारी दिए। अहिले सरकारले नागरिक एप्स र मोबाइल एप्स सञ्चालन गरिरहेको उहाँको भनाइ छ । डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि पनि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै राजनीतिक स्थिरताका लागि दलहरुलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना, सञ्चार प्रविधिलाई शहर केन्द्रितभन्दा पनि गाउँ केन्द्रित गर्नुपर्ने माग गरे । महासङ्घका अध्यक्ष नवराज कुँवरले सञ्चार प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास गर्न सकिने हुँदा त्यसमा लगानी गर्न सरकारलाई आग्रह गरे । सन् १९९२ मा स्थापना भएको महासङ्घको ५८ वटा जिल्लामा शाखा रहेको छ ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१६:१३

देशभर कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार माथि, थप ८१ जनामा संक्रमण पुष्टि !