ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने प्रचण्ड-नेपालको निष्कर्ष !

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।

दाहालले जनताको बहुदलीय जनवाद छाड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबीसमेत गरे । यस्तै ओलीले आफूहरूलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप पनि दाहालले लगाए । ‘आजभोेलि केपी ओलीले जबज हामी, एमाले हामी अर्को त माओवादी हो भनेर जो भ्रम दिन खोजिरहेका छन्, योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन, जनताको बहुदलीय जनवाद छाड्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्गप्रसाद ओली अर्थात् केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन्, योचाहिँ सत्य हो,’ दाहालले भने ।

नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले आफूसमेत शिक्षकबाट आन्दोलनमा होमिएको स्मरण गरे । उनले विगतमा भएका प्रायः सबै आन्दोलनमा शिक्षकहरूले ठूलो योगदान दिएको बताए ।

प्रकाशित : आइतबार, फागुन १६, २०७७०९:५५

पिडुँला देखाएको भरमा सांसद बनाएको भनिएपछि कोमल वलीको चित्त दुख्न सम्म दुख्यो, यसो भनिन्