एजेन्सी – प्रिमियर लिग च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले मोहम्मद सालाह लामो अवधि लिभरपुलमै प्रतिबद्ध रहेको बताएका छन्।

आइरबार राति प्रिमियर लिग अन्तर्गत सेफिल्ड युनाइटेडसँग खेल्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्दै क्लोपले सालाह लामो अवधिका लागि लिभरपुलमै रहने दावी गरेका हुन्।

पछिल्लो समय सालाह लिभरपुलमा सन्तुष्ट नरहेको चर्चा हुन थालेको छ। सालाह लिभरपुल छाडेर स्पेन जाने सम्मका खबरहरु आएका छन्। यसै विषय बारें टिप्पणी गर्दै क्लोपले मोहम्मद सालाह लामो अवधिका लागि लिभरपुलमै पूर्ण प्रतिबद्ध रहने बताए।

त्यस्तै क्लोपले सालाह वास्तवमै राम्रो खेलाडी रहेको पनि बताएका छन्। सालाह के कस्ता खेलाडी हुन् भन्ने कुरा गोल संख्या र अन्य अंकहरुले प्रस्ट पार्ने उनको भनाई छ।
“मो एक गोल स्कोरर मात्र होइनन्। उनले आफूलाई एक राम्रो फुटबलरको रूपमा पनि विकास गरेका छन्। उनी हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण खेलाडी हुन् र आशा छ कि उनी लामो समयसम्म त्यस्तो हुनेछन्।”,क्लोप भन्छन्।
किन भइरहेको छ सालाहले लिभरपुल छाड्ने चर्चा ?

गत वर्षको अन्त्य तिर सालाह लिभरपुलमा सन्तुष्ट नरहेको खबर आएको थियो। टिमको क्याप्टेनको विषयलाई लिएर सालाह भड्किएको अनुमान धेरैले गरेका थिए। त्यति बेला उनको एक अन्तर्वार्ता पनि आएको थियो। जसमा उनले म्याड्रिड र बार्सिलोना दुई शीर्ष क्लबहरू रहेको भन्दै भविष्य बारे केहि पनि भन्न नसकिने बताएका थिए।

उनले भनेका थिए,”मलाई लाग्छ कि म्याड्रिड र बार्सिलोना दुई शीर्ष क्लबहरू हुन्। भविष्यमा के हुन्छ कसलाई के थाँहा ? तर अहिले म लिभरपूलसँगै प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने कुरामा केन्द्रित छु।”

