“केहि दिनमै हाम्रो अगुवाइमा नयाँ सरकार बन्छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले आफूहरुकै अगुवाइमा नयाँ सरकार बन्ने दावी गरेका छन्।

बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भट्टराईले आफ्नो पार्टीकै अगुवाइमा नयाँ सरकार गठन हुने दावी गरेका हुन्।

नेकपा प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले केही दिनमा नयाँ सरकार बन्ने दावी गरे।

केपी ओली सरकारको अवधि सकिएको उनको भनाई छ। केपी ओलीसँग अलिकति पनि राजीनामा दिएर पदत्याग गरी क्षमा माग्नुपर्ने भट्टराईले बताए। आफ्ना गल्ती कमजोरी, आफूले दिएको धोका सम्झेर आफ्नो कार्यप्रति प्रायश्चित गर्न ओलीलाई भट्टराईको सुझाव छ।

केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको उनले बताए। ओलीले पदत्याग गरेर कम्युनिस्ट आन्दोलन बचाउने उनको विश्वास छ।

“ओलीसँग नैतिकता छ भने पद त्याग गरी क्षमा माग्नुपर्छ, अनि अर्को ढंगबाट अघि बढ्न सकिएला। ओलीले आफ्ना गल्ती कमजोरी, आफूले दिएको धोका सम्झेर आफ्नो कार्यप्रति प्रायश्चित गनुपर्छ।”,भट्टराईले भने।

त्यस्तै भट्टराईले ओली आफ्नो पद धरापमा परेपछि जातजाति तथा धर्मलाई प्रयोग गर्न लागिपरेको आरोप पनि लगाएका छन्। पद बचाउन ओलीले धर्मलाई काखी च्याप्न खोजेको आरोप उनको छ। ओलीको यस्तो कदमले देशमा द्वन्द बढ्न सक्ने उनले बताए।

प्रकाशित : सोमबार, फागुन १७, २०७७१९:३५

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची